NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज १८ गते

गगनको अभिव्यक्तिपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा सभापति गगनकुमार थापाले दिएको अभिव्यक्तिपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक प्रतिक्रिया दिएका छन्।

आइतबार फेसबुकमार्फत प्रधानमन्त्री शाहले लेखेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’

काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा सभापति थापाले संसद् खुला हुनुपर्ने धारणा राखेका थिए। उनले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित नभएसम्म संसद् खुलेको मान्न नसकिने भन्दै संसद् सञ्चालनका लागि प्रधानमन्त्रीको उपस्थितिलाई आवश्यक रहेको बताएका थिए।

थापाको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री शाहले महाधिवेशन उद्घाटन भइरहेकै दिन सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन्। उनको टिप्पणीमा कांग्रेसलाई व्यंग्यात्मक रूपमा ‘नयाँ पार्टी’ सम्बोधन गर्दै महाधिवेशनका क्रममा आफूविरुद्ध आलोचना गर्न खुलामञ्च प्रयोग गरिएकोप्रति कटाक्ष गरिएको देखिन्छ।

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराई तथा नेकपा (एमाले) का महासचिव शंकर पोखरेललगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी थिए।

समारोहमा नेताहरूले समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राखिरहेका बेला प्रधानमन्त्री शाहको उक्त टिप्पणी सार्वजनिक भएको हो।

खुलामञ्चको संरक्षण तथा सौन्दर्यीकरणमा काठमाडौं महानगरपालिकाले गरेको कामलाई समेत जोड्दै शाहले राजनीतिक दलहरूको गतिविधिप्रति सांकेतिक रूपमा व्यंग्य गरेका हुन्।

ताजा अपडेट

नेपालवाच विशेष