NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज २४ गते

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने, प्राधिकरणले सार्वजनिक गर्‍यो समयतालिका

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने सूचना जारी गरेको छ। प्राधिकरणअन्तर्गत रत्नपार्क वितरण केन्द्र तथा महाराजगञ्ज उपवितरण केन्द्रबाट विद्युत् वितरण हुने क्षेत्रमा विद्युतीय संरचना मर्मत तथा स्तरोन्नति गर्नुपर्ने भएकाले निर्धारित समयका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो।

प्राधिकरणका अनुसार विद्युत् आपूर्ति प्रणाली सुधार गर्ने क्रममा ट्रान्सफर्मर, वितरण लाइन तथा अन्य विद्युतीय संरचनाको मर्मतसम्भार गरिनेछ। यसका लागि विभिन्न मितिमा छुट्टाछुट्टै क्षेत्रमा विद्युत् कटौती गरिने जनाइएको छ।प्राधिकरणले सार्वजनिक गरेको समयतालिकाअनुसार असोज २४ गते शनिबार र असोज २५ गते आइतबार विभिन्न फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।

शनिबार असोज २४ गते गैह्रीधारा फिडरअन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ। यस अवधिमा लैनचौर चोक, उत्तरढोका, कैलाशचोक, करेला टोल, नीलसरस्वती स्थान, उत्तरढोका टुकुचा क्षेत्र, गोल्फुटारतर्फका केही क्षेत्र, गैह्रीधारा चोक, सनराइज बैंक एरिया, बालुवाटार, चिनियाँ दूतावास तथा आसपासका क्षेत्रमा विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ।

त्यस्तै, शनिबार नै हाँडीगाउँ फिडरअन्तर्गतका क्षेत्रमा मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ। ओम अस्पतालको विपरीततर्फदेखि धोबीखोला करिडोर हुँदै भत्केको पुल, हाँडीगाउँ, हाँडीगाउँ कृष्ण मन्दिर, नक्साल भाटभटेनी, टङ्गाल क्षेत्र, गणपोखरी, प्रहरी प्रधान कार्यालय, नारायणचौर, चारखाल इत्यादि तथा आसपासका क्षेत्रमा विद्युत् कटौती हुनेछ।

यसैगरी, असोज २५ गते आइतबार कालिकास्थान फिडरअन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ। कालिकास्थान चोकदेखि डिल्लीबजार चारखाल, डिल्लीबजार पिपलबोट, घट्टेकुलो दुर्गा मन्दिर, मैतीदेवी, मैतीदेवी सेतोपुल, मैतीदेवी मन्दिर, ज्ञानेश्वर ओरालो, रातोपुल तथा रातोपुल हुँदै सेतोपुलसम्मका क्षेत्र र आसपासका बासिन्दा विद्युत् कटौतीबाट प्रभावित हुनेछन्।

प्राधिकरणले निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा तोकिएको समयभन्दा पहिले नै विद्युत् सेवा सञ्चालन हुन सक्ने जनाएको छ। विद्युत् कटौतीसम्बन्धी थप जानकारीका लागि प्राधिकरणको वेबसाइट https://www.nea.org.npवा हटलाइन नम्बर ११५० मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

ताजा अपडेट

नेपालवाच विशेष