दसैँको शुभकामना दिँदै पूर्वराजा शाहको आह्वान– ‘शोकलाई शक्तिमा बदलेर अघि बढौँ’
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई दसैँको शुभकामना दिँदै राष्ट्रिय एकता, आत्मनिर्भरता र पुनर्निर्माणमा जोड दिएका छन्।
शुभकामना सन्देशमार्फत शाहले प्राकृतिक विपद्बाट नागरिकले भोग्नुपरेको पीडा, मुलुकको राजनीतिक अस्थिरता तथा आर्थिक–सामाजिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। उनले विपद्बाट उत्पन्न शोक र पीडालाई शक्तिमा रूपान्तरण गर्दै अघि बढ्नुपर्ने बताएका छन्।
भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा आएको भीषण बाढी तथा अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै पूर्वराजा शाहले प्रभावित क्षेत्रको पुनर्निर्माण र पीडितको पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। क्षतिग्रस्त भौतिक संरचनाको शीघ्र पुनर्निर्माण तथा प्रभावित नागरिकलाई तत्काल राहत र पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
बाह्य सहयोग लिने क्रममा राष्ट्रिय स्वाभिमान र स्थानीय परम्पराको संरक्षणमा समेत ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले कूटनीतिक रूपमा सजग रहन आग्रह गरेका छन्।
मुलुकको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक तथा प्रशासनिक क्षेत्रमा अन्योल देखिएको भन्दै शाहले प्रजातान्त्रिक विधि र प्रक्रियालाई सुदृढ बनाउन तथा अर्थतन्त्र सुधारका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन्।
नयाँ पुस्ताले जिम्मेवारी लिएर देशलाई आशावादी दिशातर्फ अघि बढाउने विश्वास व्यक्त गर्दै उनले विभाजनभन्दा एकता र परनिर्भरताभन्दा आत्मनिर्भरतालाई प्राथमिकता दिनुपर्ने सन्देश दिएका छन्।
उनले एकीकृत, स्वाभिमानी र आत्मनिर्भर नेपाल निर्माणका लागि सबै नेपालीलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्।


प्रतिक्रिया