NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १ गते

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा आज सरकारका तर्फबाट विधिपूर्वक पूजाआजा गरी फूलपाती भित्राइएको छ ।

परम्पराअनुसार जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाइमा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको उपस्थितिमा फूलपाती भित्राइएको हो । सो अवसरमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवान र सर्वसाधारणको सहभागिता रहेको थियो ।

फूलपाती भित्र्याउन पोखराको मानव अधिकार चोकबाट बाजागाजासहित शोभायात्रा निकालिएको थियो । भिमसेन मन्दिर, नालाको मुख र मोहोरियाटोल हुँदै विन्ध्यवासिनी मन्दिर परिसर पुगेको शोभायात्रा पूजाआजासँगै समापन भएको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी गुरुङ, प्रहरी प्रमुख नवीन कार्की लगायत सुरक्षा निकायका अधिकृतले कस्केली नागरिकको सुख, शान्ति र समृद्धिको कामना गर्दै विन्ध्यवासिनी मन्दिरमा पूजाआजा गर्नुभएको थियो । साथै, चारवटै सुरक्षा निकायका तर्फबाट नवदुर्गा भगवतीलाई सलामी अर्पण गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी गुरुङले चाडपर्वका अवसरमा शान्ति सुरक्षा कायम गरी सबैलाई भयरहित वातावरणमा खुसीसाथ चाडपर्व मनाउने व्यवस्था मिलाउन सहयोग गर्न आग्रह गरे ।

“जिल्ला प्रशासन कार्यालयको अगुवाइमा विधिपूर्वक फूलपाती भित्राइएको हो । सरकारी तवरबाटै परम्परागत रूपमा यो कार्य हामीले गर्दै आएका छौँ ।” उनले भने । परम्परादेखि नै विन्ध्यवासिनी मन्दिर र कास्कीकोटमा नेपाल सरकारका तर्फबाट विधिपूर्वक पूजाआजा गरी फूलपाती भित्राउने प्रचलन रहिआएको छ ।

फूलपातीका दिन पोखराका विन्ध्यवासिनी, तालबाराही, भद्रकाली, अकलादेवी लगायतका मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनको घुइँचो लागेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष