NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक ३ गते

वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला

काठमाडौं: विश्व सम्पदा सूचीमा रहेको हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिर भोलि कात्तिक ३ गते मंगलबार सर्वसाधारणका लागि खुला गरिने भएको छ। महानवमीका अवसरमा वर्षको एक पटक मात्र भक्तजनका लागि ढोका खोलिने परम्पराअनुसार मन्दिर बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म खुला रहनेछ।

हनुमानढोका दरबार हेरचाह अड्डाकी प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार पूजा, आराधना एवं दर्शनका लागि आउने भक्तजनको सुविधालाई ध्यानमा राख्दै सो समय निर्धारण गरिएको हो। महानवमीका दिन मन्दिरमा हजारौँ भक्तजनको घुइँचो लाग्ने गर्दछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको साइतअनुसार असोज ३१ गते शनिबार बिहान ७:३७ बजे तलेजु भवानीलाई मूलचोकमा यात्रा गराइएको थियो र सोही दिन बिहान १०:३९ बजे स्थिरासनमा राखिएको थियो। हाल मन्दिरमा महाअष्टमीको अवसरमा कालरात्रि पूजा भइरहेको छ। अड्डाका अनुसार कालरात्रि पूजामा ५४ बोका र ५४ राँगाको बलि दिइनेछ।

विजयादशमीसम्म तलेजु भवानीलाई मूलचोकमै राखेर पूजा आराधना गरिनेछ। कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान १०:५१ बजे तलेजु भवानीको यात्रा गराइने छ भने बिहान ११:५२ बजे मन्दिरमा पुन: स्थिरासन गराइने कार्यक्रम रहेको छ।

ताजा अपडेट

नेपालवाच विशेष