NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक ५ गते

विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं: बडादशैँको मुख्य दिन विजयादशमीका अवसरमा आज बिहानैदेखि देशभर हर्षोल्लासका साथ मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०:२६ बजेको समयलाई टीका लगाउने उत्तम साइतका रूपमा सार्वजनिक गरेको थियो।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट वैदिक विधिपूर्वक अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र पहेँलो जमरा लगाउने परम्परा छ। शास्त्रीय मान्यताअनुसार टीका लगाइमाग्ने व्यक्ति पश्चिम र लगाइदिने व्यक्ति पूर्व फर्किँदा चन्द्रमा दाहिने र सम्मुख पर्ने भएकाले यसलाई शुभ मानिन्छ। समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमी आफैँमा शुभ दिन भएकाले सामान्य मानिसले दिनभर जुनसुकै समयमा टीका लगाउन सक्ने भए पनि राज्य सञ्चालकका लागि भने साइतको विशेष महत्व हुन्छ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वको ऐतिहासिक र धार्मिक महत्व छ। त्रेता युगमा भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको खुसियालीमा विजयादशमी मनाउन थालिएको विश्वास गरिन्छ। समृद्धिको प्रतीक मानिने पहेँलो जमराको औषधीय गुणसमेत रहेको वैज्ञानिक तथ्य पुष्टि भइसकेको छ।

टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म निरन्तर चल्ने भए पनि नेपालका केही स्थान र समुदायमा भने आजको दिन मात्र टीका लगाउने चलन छ। कतिपय समुदायले आफ्नो कुल परम्पराअनुसार दही र अक्षता मुछेर सेतो टीका पनि लगाउने गर्दछन्।

ताजा अपडेट

नेपालवाच विशेष