NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक ७ गते

बिहीबारदेखि आइतबारसम्म धान नकाट्न मौसमविद्को सुझाव, भारी वर्षाको सम्भावना

काठमाडौं । आगामी बिहीबारदेखि आइतबारसम्म नेपालका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेकाले मौसमविद्ले किसानलाई धान नकाट्न सुझाव दिएका छन्। बंगालको खाडीमा विकसित हुन सक्ने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा झरीसँगै केही स्थानमा भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार विशेषगरी कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षाको सम्भावना बढी छ। त्यसैले धान पाकिसकेको अवस्थामा काट्ने, सुकाउने र सुरक्षित रूपमा भित्र्याउने काम मौसमको अवस्था हेरेर समयमै सक्न उनले सुझाव दिएका छन्।

“धान पाकिसकेको छ र काटेर सुकाएर सुरक्षित रूपमा भित्र्याउन समय पुग्छ भने स्थानीय मौसम हेरेर मंगलबारअगावै काम सक्ने योजना बनाउनुहोला,” पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले वर्षाको सम्भावनालाई ध्यानमा राख्दै किसानलाई कृषि कार्यको योजना सावधानीपूर्वक बनाउन आग्रह गरेका छन्। वर्षाका कारण काटिसकेको धान भिज्ने र भित्र्याउन कठिनाइ हुन सक्ने भएकाले स्थानीय मौसमको पूर्वानुमानलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

 

ताजा अपडेट

नेपालवाच विशेष