सप्तकोसी नदीमा मोटर बोट दुर्घटना: ३ को मृत्यु, ३ बेपत्ता
धनकुटाको साँगुरीगढी गाउँपालिका-१० स्थित त्रिवेणीमा सप्तकोसी नदीमा मोटर बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन्। ओबीएम कम्पनीको उक्त मोटर बोट ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट चालकसहित १५ जना यात्रु बोकेर सुनसरीको चतरातर्फ जाँदै गरेको बोट दिउँसो दुर्घटनामा परेको हो। दुर्घटनाको खबर प्राप्त हुनासाथ बराहक्षेत्र प्रहरी चौकीबाट खटिएको टोलीले चालकसहित १२ जनालाई जीवितै उद्धार गरी उपचारका लागि चतरा अस्पताल पठाएको थियो।
अस्पतालमा उपचारका क्रममा सुनसरीको बराहक्षेत्र-१ की ५२ वर्षीया लिला राई, करिब ६-७ वर्षीया एक बालिका र अन्दाजी ४०-५० वर्षका एक पुरुषको मृत्यु भएको छ। मृतक बालिका र पुरुषको पहिचान खुल्न बाँकी छ। घाइते भोजपुर हतुवागढी-४ का ३१ वर्षीय मोहन सुनारको अवस्था सामान्य छ र उनको उपचार भइरहेको छ। दुर्घटनामा सकुशल रहेका अन्य सात यात्रु घर फर्किसकेका छन्।
प्रहरीले बोट चालक सुनसरी बराहक्षेत्र-१ का २४ वर्षीय सुमन मगरलाई नियन्त्रणमा लिएको छ। नदीमा बेपत्ता भएका झापा कनकाई-४ का ७ वर्षीय शिवक मगर, सुनसरी बराहक्षेत्र-१ की २१ वर्षीया प्रमिला मगर र सोही स्थानकी २२ वर्षीया मनु राईको खोजी कार्य जारी छ। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ।


प्रतिक्रिया