डीडीसीका पूर्वमहानिर्देशक झासहित आठजना पक्राउ
काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी) का पूर्वमहानिर्देशक सञ्जीव झासहित आठ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ। सरकारी स्वामित्वको संस्थानलाई १२ करोड १३ लाख ४३ हजार रुपैयाँ बराबरको आर्थिक हानी पुर्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
सीआईबीका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार पक्राउ पर्नेमा झासहित विजयकुमार यादव, मनहरी शर्मा, रामकेवल राय, जीतेन्द्रकुमार यादव, नवीनराय यादव, शिवनन्दन राय र वीखबहादुर भण्डारी रहेका छन्। उनीहरूमाथि आपराधिक विश्वासघात तथा सङ्गठित अपराधमा संलग्न रहेको आरोप छ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूले पूर्वयोजना र आपसी मिलेमतोमा विभिन्न समूह खडा गरी सङ्गठित सञ्जालमार्फत संस्थानलाई आर्थिक हानी पुर्याउँदै गैरकानुनी लाभ लिएको खुलेको छ। जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर मुलुकी अपराध संहिता २०७४ र सङ्गठित अपराध निवारण ऐन २०७० अन्तर्गत उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको छ।
२०७८ चैत १४ गते महानिर्देशकमा नियुक्त भएका झा यसअघि २०८० सालमा पनि पक्राउ परेका थिए। त्यतिबेला उनलाई १७ करोड रुपैयाँ बराबरको दूध बिक्रीको रकम संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको आरोप लागेको थियो।


प्रतिक्रिया