एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र काठमाडौँ–विराटनगर भिड्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोली प्रतिस्पर्धामा उत्रिनेछन्।
आजको पहिलो खेलमा दिउँसो १२:३० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
तीन खेल खेलेको लुम्बिनीले दुई जित र एक खेलमा अंक बाँड्दै पाँच अंक जोडेको छ। अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी आज चौथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ।
यता जनकपुरले चार खेलबाट दुई जित र दुई हारसहित चार अंक जोडेको छ। तालिकाको चौथो स्थानमा रहेको जनकपुर आज तेस्रो जितको खोजीमा हुनेछ। समान चार अंक रहेका कर्णाली र विराटनगर रनरेटका आधारमा जनकपुरभन्दा अगाडि छन्।
त्यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किंग्स आमनेसामने हुनेछन्।
दुई खेल खेलेको काठमाडौँले एक जित र एक हार बेहोर्दै दुई अंक जोडेको छ। तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको काठमाडौँ आज दोस्रो जित निकाल्दै आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा हुनेछ।
अर्कोतर्फ, सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले चार खेलबाट दुई जित र दुई हारसहित चार अंक जोडेको छ। तालिकाको दोस्रो स्थानमा रहेको विराटनगर आज तेस्रो जित निकाल्दै आफ्नो दाबेदारी बलियो बनाउने योजनामा हुनेछ।
आजका दुवै खेल अंकतालिकामा टोलीहरूको स्थान सुधार गर्न महत्वपूर्ण हुनेछन्।


प्रतिक्रिया