चुमनुब्रीका दुर्गम गाउँमा नुनको मूल्य प्रतिकिलो दुई सय
काठमाडौं: सडक सञ्जालको पहुँच नभएका कारण गोरखाको चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य नुन निकै महँगो मूल्यमा खरिद गर्न बाध्य छन्। बजारमा सामान्यतया ३० देखि ३५ रुपैयाँमा पाइने एक प्याकेट नुन चुमनुब्रीका दुर्गम बस्तीहरूमा पुग्दा २ सय रुपैयाँसम्म पर्ने गरेको छ।
साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य २६ रुपैयाँ तोके पनि ढुवानी खर्चका कारण हिमाली क्षेत्रमा मूल्य आकाशिएको हो। तिब्बती सीमावर्ती सामागाउँ र साम्दोमा एक प्याकेट नुनको मूल्य २ सय रुपैयाँ पुग्छ। स्थानीय निमा दोर्जेका अनुसार पाङसिङबाट साम्दोसम्म ढुवानी भाडा मात्रै प्रतिकिलो १ सय रुपैयाँ लाग्छ। यसमा आरुघाट र आर्खेटबाट पाङसिङसम्मको ढुवानी खर्च थपिँदा मूल्य बढ्ने गरेको छ।
त्यस्तै, ल्हो गाउँमा १ सय ५० रुपैयाँ, बिहीमा १ सय रुपैयाँ र छुले तथा निलेका बासिन्दाले १ सय ८० देखि २ सय रुपैयाँसम्म तिर्ने गरेका छन्। ढुवानीका लागि खच्चडको प्रयोग हुने र मौसमअनुसार भाडा दर फरक पर्ने भएकाले मूल्यमा अस्थिरता छ।
साल्ट ट्रेडिङ कर्पोरेसनका गण्डकी प्रदेश प्रमुख सागर सेरचनले सिर्दिबासका लागि ३५० क्विन्टल नुन पठाइएको र सिर्दिबाससम्मको ढुवानीमा सरकारले अनुदान दिने गरेको जानकारी दिए। तर, स्थानीय बासिन्दाका अनुसार अनुदानको नुन सिर्दिबास क्षेत्रमै सीमित हुने र त्यसभन्दा माथिका बस्तीमा पुग्न नसक्ने समस्या छ।
चुमनुब्रीको अधिकांश भाग अझै सडक सञ्जालबाट टाढा छ। बेनिघाट-आरुघाट-लार्के सडक निर्माणले गति लिन नसक्दा स्थानीय बासिन्दा महँगो ढुवानी भाडा तिर्न बाध्य छन्। हालसम्म वडा नं ३ को सिर्दिबासबाहेक अन्य छ वटा वडामा मोटरबाटो पुग्न सकेको छैन।
ताजा अपडेट
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु
-
एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार
-
हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, थेहे आसपास केन्द्रबिन्दु
-
एनपीएलमा आज सुदूरपश्चिम-कर्णाली र चितवन-पोखरा भिड्दै
-
हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन


प्रतिक्रिया