NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २५ गते

नेपाल संवतको अवसरमा प्रधानमन्त्री शाहको शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल संवत् ११४७ तथा म्ह पूजाका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। उनले आजको दिन राष्ट्रिय विभूति शङ्खधर साख्वाःको योगदानको स्मरणसमेत गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत दिएको सन्देशमा नेपाल संवत् चन्द्रमामा आधारित नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्। उनले शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर यो संवत् सुरु गरेको स्मरण गरेका हुन्।

म्ह पूजाको सन्दर्भमा प्रधानमन्त्री शाहले भने, ‘म्ह अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर, अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने यस परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ।’ उनले यो मौलिक परम्पराले नेवार समुदायमा आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाउने गरेको बताएका छन्।

प्रधानमन्त्री शाहले चाडपर्वले रिसराग भुलेर सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउन प्रेरित गरोस् भन्ने कामना गरेका छन्। उनले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना दिएका छन्।