एनपीएल फाइनलका दिन सुदूरपश्चिमका क्रिकेटप्रेमीलाई खुसीको खबर
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भइरहेकै दिन सुदूरपश्चिमका क्रिकेटप्रेमीका लागि खुसीको खबर आएको छ।
प्रदेश सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बोलपत्र आह्वान गर्दै ठेक्का प्रक्रिया अगाडि बढाएको छ। आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्सालले रंगशालाको ठेक्का प्रक्रिया सुरु भएको जानकारी दिए।
मन्त्री लम्सालका अनुसार यस ठेक्काअन्तर्गत मैदान निर्माणका लागि हालको जमिनको सतहबाट माटो भर्ने, जमिन सम्याउने र प्यारापिटको अगाडिको भागमा ब्लक निर्माण गर्नेजस्ता कामहरू समावेश छन्।
मन्त्री लम्सालले भने, ‘सुदूरपश्चिम प्रदेशको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढाएका छौँ।’ उनले यस आयोजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
मन्त्री लम्सालले थपे, ‘सुदूरपश्चिमवासीको सपना र राष्ट्रिय महत्त्व बोकेको यस आयोजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउँदै खेल पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा समग्र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने लक्ष्य राखेका छौँ।’

प्रतिक्रिया