एनपीएल फाइनल: लुम्बिनीले सुदूरपश्चिमसामु राख्यो १५६ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि भइरहेको फाइनल भिडन्तमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन जोडेको हो।
लुम्बिनीका लागि दिलिप नाथले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ३९ रन बनाए। उनले ३१ बलमा ३ छक्का प्रहार गरे। कप्तान रोहित पौडेलले ३१ बलमा ३० रन जोडे।
त्यस्तै, निरोशन डिकवेलाले १७ बलमा २८, अली शेखले १२ बलमा २४ र डार्सी सर्टले १८ बलमा २१ रनको योगदान दिए।
सुदूरपश्चिमको बलिङमा स्कट कुगलाइनले २ विकेट लिए। कप्तान दीपेन्द्रसिंह ऐरी, थारिन्दु रत्नायके र हेमन्त धामीले एक–एक विकेट हात पारे।
फाइनलका लागि सुदूरपश्चिमले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा विनोद भण्डारी, आरिफ शेख, डा. ईशान पाण्डे, हेमन्त धामी, अनिल खरेल, दीपक बोहरा, सैफ जैब, जर्ज मुन्से, स्कट कुगलाइन र थारिन्दु रत्नायकेलाई प्लेइङ–११ मा समेटेको छ।
यस्तै, रोहितकुमार पौडेलको नेतृत्वमा मैदान उत्रिएको लुम्बिनीको टोलीमा सन्दीप जोरा, आसिफ शेख, शेर मल्ल, अभिशेष गौतम, दिलिप नाथ, किशोर महतो, क्रिश्चियन ट्रम्पलमन, निरोशन डिकवेला, डार्सी सर्ट र अली शेख छन्।
अब उपाधि आफ्नो पक्षमा पार्न सुदूरपश्चिमले २० ओभरमा १५६ रन बनाउनुपर्नेछ। फाइनलको रोमाञ्चकता दोस्रो इनिङमा थप बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया