NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ७ गते

४६ वर्षपछि नेपाल फर्किंदै जापानी सांगीतिक समूह गोडाइगो, ‘नेपाल–जापान फेस्टिभल २०२६’ को अन्तिम तयारी पूरा

काठमाडौं । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवको अवसरमा आगामी मंसिर ६ गते आइतबार काठमाडौंको दरबारमार्गमा आयोजना हुने ‘नेपाल–जापान महोत्सव २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल–जापान महोत्सव आयोजक समितिको आयोजना तथा नेपालस्थित जापानी राजदूतावास र काठमाडौं महानगरपालिकाको सहआयोजनामा हुन लागेको महोत्सवले दुई देशबीचको सात दशक लामो मित्रता र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

महोत्सवको मुख्य आकर्षणका रूपमा जापानको चर्चित सांगीतिक समूह गोडाइगोको विशेष प्रस्तुति रहनेछ । सन् १९८० मा काठमाडौंको दशरथ रंगशालामा ऐतिहासिक प्रस्तुति दिएको गोडाइगो ४६ वर्षपछि पुनः नेपालमा प्रस्तुत हुन लागेको हो । यसैगरी, जापानका चर्चित हिपहप कलाकार मम्मी–डी सहित कववेभ, कुटुम्ब र सविन राई एण्ड द फराहो नेपाली व्याण्डहरुको समेत विशेष सांगीतिक प्रस्तुति रहनेछ ।

महोत्सवले सांस्कृतिक सम्बन्धसँगै मानवीय सहयोगको सन्देशसमेत प्रवाह गर्नेछ । भोटेकोशी नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ गोडाइगोले जापानमा आयोजित आफ्नो सांगीतिक यात्राको ५०औं वार्षिकोत्सव कार्यक्रममा संकलन गरेको रकममध्ये करिब ३० लाख नेपाली रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएको छ ।

सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र जापानबीच शिक्षा, संस्कृति, पर्यटन तथा व्यापारका क्षेत्रमा निरन्तर सहकार्य हुँदै आएको छ। यस महोत्सवले दुई देशबीचको मित्रतालाई नयाँ पुस्तासम्म पु¥याउनुका साथै पर्यटन प्रवद्र्धन र सांस्कृतिक आदानप्रदानमा योगदान पु¥याउने आयोजकको विश्वास छ ।

महोत्सवमा नेपाली तथा जापानी कला, संस्कृति र संगीतको संगमसँगै विभिन्न सांस्कृतिक गतिविधिसमेत सञ्चालन हुनेछन् । कार्यक्रममा प्रवेश निःशुल्क रहने छ ।

ताजा अपडेट

नेपालवाच विशेष