NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर १० गते

लैंगिक हिंसाविरुद्ध एकजुट हुन मन्त्री बादीको आह्वान

काठमाडौं: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीले लैंगिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन सबैमा आह्वान गरेकी छिन्। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा सन्देश जारी गर्दै मन्त्री बादीले हिंसा, विभेद र अपमान सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने बताएकी हुन्।

उनले महिलाको सम्मान, सुरक्षा र समान सहभागिता सुनिश्चित नभएसम्म लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा हुन नसक्ने उल्लेख गरिन्। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यो अभियानलाई हिंसामुक्त र न्यायपूर्ण समाज निर्माणको साझा प्रतिबद्धताका रूपमा लिनुपर्ने उनको भनाइ छ।

नेपालको संविधानले समानता र महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै मन्त्री बादीले कानुनको प्रभावकारी कार्यान्वयनमार्फत दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन्। उनले डिजिटल तथा साइबर हिंसा, बालबालिकामाथिको हिंसा र सीमान्तकृत समुदायमाथि हुने हिंसाविरुद्ध राज्यका निकाय र नागरिकलाई एकजुट हुन आग्रह गरिन्।

कुनै पनि शक्ति वा पदका आधारमा पीडकले उन्मुक्ति पाउन नहुने बताउँदै उनले भनिन्, ‘महिलाको सुरक्षा महिलाको मात्र नभई सम्पूर्ण समाज र राज्यको जिम्मेवारी हो।’ उनले पीडितले राज्यका निकायमा न्यायको खोजी गर्दा जिम्मेवारी र तदारुकताका साथ व्यवहार गर्नुपर्नेमा जोड दिइन्। ‘तपाईंकी छोरी हाम्रो पनि छोरी हुन्, तपाईंकी बुहारी हाम्री पनि चेली हुन्,’ मन्त्री बादीले सन्देशमा उल्लेख गरेकी छिन्, ‘हाम्रा छोरीचेली र बालबालिकाले हिंसाको डरबिना सुरक्षित र सम्मानित जीवन बाँच्न पाउनुपर्छ।’

मन्त्री बादीले सरकारी तथा निजी क्षेत्र, अभिभावक, शिक्षक, नागरिक समाज र राजनीतिक दलहरूलाई लैंगिक हिंसाविरुद्ध आ-आफ्नो ठाउँबाट आवाज उठाउन आग्रह गरेकी छिन्। उनले हिंसामुक्त नेपालको निर्माणका लागि सबैको साझा प्रतिबद्धता आवश्यक रहेको औँल्याइन्।

ताजा अपडेट

नेपालवाच विशेष