NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर १० गते

काठमाडौँ उपत्यकामा निरन्तर घट्दै न्यूनतम तापक्रम

काठमाडौं: काठमाडौँ उपत्यकामा पछिल्लो एक सातादेखि न्यूनतम तापक्रम निरन्तर ओरालो लाग्ने क्रम जारी छ। तापक्रम घट्दै जाँदा उपत्यकामा चिसो महसुस गरिएको छ। नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार बुधबार बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस देखिएको छ।

विभागले हरेक दिन बिहान ८:४५ बजे आधिकारिक न्यूनतम तापक्रम मापन गर्ने गर्छ। मौसमविद् ढकालले बिहानको प्रारम्भिक मापनभन्दा आधिकारिक समयमा तापक्रम थप घट्न सक्ने वा सोही कायम रहन सक्ने बताए। मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस रहेको थियो। मंसिर २ गते ९.५ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम त्यसयता निरन्तर घट्दै आएको छ। पछिल्लो सात दिनको तथ्यांकअनुसार मंसिर ३ गते ९, ४ गते ८.७, ५ गते ८.३, ६ गते ८.३, ७ गते ८ र ८ गते ७.९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो।

देशभर नै तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हरेक दिन बिहान ८:४५ बजे न्यूनतम र साँझ ५:४५ बजे अधिकतम तापक्रम मापन गर्छ। महाशाखाका अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको र अधिकतम तापक्रमले दिनभरको अवस्था जनाउँछ।

बुधबारको मौसम पूर्वानुमानअनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ। राति कोसी र गण्डकीका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बिहानीपख उपत्यका, खोच र तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। महाशाखाले बिहान ८ बजे मौसम बुलेटिन अद्यावधिक गर्ने जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष