भोलिदेखि नारायणगढ-मुग्लिङ सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
चितवन। नारायणगढ-मुग्लिङ सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न भोलि मंसिर १३ गते आइतबारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माका अनुसार पहिरो रोकथामका क्रममा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यद्यपि, काठमाडौँबाट मुग्लिङ-आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने नियमित रूपमा सञ्चालनमा रहने प्रशासनले स्पष्ट पारेको छ।
तुइनखोला क्षेत्रमा वर्षायाममा मात्र नभई गत वर्षदेखि हिउँदयाममा समेत सुक्खा पहिरो खसेर सडक अवरुद्ध हुने क्रम नरोकिएपछि दीर्घकालीन समाधानका लागि विशेष प्राविधिक काम अघि बढाउन लागिएको हो।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो रोकथामका लागि ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप व्यवस्थापन गर्ने र किला रड ठोकेर कमजोर चट्टान तथा माटोलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि अपनाइनेछ।
यसका साथै भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ (तेर्सो निकास) तथा स्लोपको प्रकृतिअनुसार द्विआयामिक र त्रिआयामिक ढाँचामा ‘बायोइन्जिनियरिङ’ (जैविक प्रविधि) समेत प्रयोग गरिने सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माले जानकारी दिए।
गत असोजदेखि रोकिएको तुइनखोलाको काम पुनः सुरु गर्न लागिएको हो। यसअघि पृथ्वी राजमार्गको कृष्णभीर अवरुद्ध हुँदा तुइनखोलामा काम गरिएकोमा कृष्णभीर खुलेपछि यातायात सहज बनाउन तुइनखोलाको काम रोकिएको थियो।
हाल मुग्लिङनजिकैको घोप्टेभीरमा भइरहेको काम भोलिसम्म सकिने र पर्सिदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने प्रमुख इन्जिनियर शर्माले बताए। घोप्टेभीरको काम सकिएलगत्तै तुइनखोलामा पहिरो रोकथामको कामले गति लिनेछ।
सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बन्द गरेर काम गर्नुपर्ने प्रारम्भिक अनुमान गरिए पनि प्राविधिक मूल्याङ्कनपछि मात्र कुल अवधि तय गरिनेछ। सडक बन्दका कारण यात्रुलाई पर्न जाने असुविधालाई ध्यानमा राख्दै प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्राको समय व्यवस्थापन गरेर मात्र निस्कन अनुरोध गरेको छ।
ताजा अपडेट
-
भोलिदेखि नारायणगढ-मुग्लिङ सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
-
सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार स्मार्ट लाइसेन्स छापिँदै
-
सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
-
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
-
आजदेखि काठमाडौँका विभिन्न क्षेत्रमा चार दिन विद्युत् कटौती हुने

प्रतिक्रिया