चेल्सी बन्यो पहिलोपटक क्लब विश्वकप च्याम्पियन

काठमाडौं । इंग्लिस क्लब चेल्सी पहिलोपटक फिफा क्लब विश्वकप फुटबलको विजेता बनेको छ ।
गएराति युएईमा भएको फाइनलमा ब्राजिलियन क्लब पाल्मिरसलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले हराउँदै चेल्सी पहिलोपटक च्याम्पियन बनेको हो ।
चेल्सीलाई उपाधि दिलाउन रोमेलु लुकाकु र काई हाभर्ट्जले एक–एक गोल गरे । पाल्मिरसका राफेल भेइगाले एक गोल फर्काए ।
खेलको ५४ औं मिनेटमा लुकाकुले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ६४ औं मिनेटमा भेइगाले पेनाल्टीमा गोल गर्दै पाल्मिरसलाई १–१ गोलको बराबरीको स्थितिमा ल्याए ।
त्यसपछि निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकियो । खेल अतिरिक्त समयमा गयो ।
अतिरिक्त समयमा चेल्सीका हाभर्ट्जले पेनाल्टीमा निर्णायक गोल गरे । उनले ११७ औं मिनेटमा गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाएका हुन् ।
अतिरिक्त समयको इन्जुरी समयमा लुवान गार्सियाले रातो कार्ड पाएपछि ब्राजिलियन क्लब १० खेलाडीमा सीमित भएको थियो ।
क्लब विश्वकपको उपाधि जित्ने चेल्सी तेस्रो इंग्लिस क्लब बन्न सफल भएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने चेल्सीका ब्राजिलयन खेलाडी थियागे सिल्भा घोषित भए ।
प्रतिक्रिया