व्यक्तिगत श्रम स्वीकृति पनि अब अनलाइनबाटै
काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ । कार्यालयका प्रमुख रमेश अर्यालले आँउदो जेठ ६ गतेदेखि अनलाइन प्रणालीबाट मात्र नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने निर्णय भएको जानकारी दिए ।
कार्यालयले गत माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र यही वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र गरेसँगै कार्यालयमा दैनिक हुने हजारौको भीड हटेको छ । हाल भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरणमार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र हुने व्यवस्थासँगै कार्यालयले पूर्णरूपमा अनलाइन प्रणालीबाट मात्र सेवाप्रवाह गर्ने भएको छ ।
आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितोरूपमा गुनासोरहित सेवा प्रदान गर्न मन्त्रालयले निर्देशन गरेसँगै सबै किसिमका श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालय प्रमुख अर्यालले बताए ।
नयाँ व्यक्तिगत श्रम स्वीकृतिका लागि भिसा, करार सम्झौता, स्वास्थ्य परीक्षण उत्तीर्ण प्रमाणपत्र, अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र, सीपमूलक रोजगारमा जान सीप सिकेको प्रमाणपत्र, स्वघोषणा फाराम, म्यादी जीवन बीमा र कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण अनलाइनबाटै अपलोड गर्नुपर्नेछ ।
श्रम स्वीकृति नलिई घरेलु कामदारको हकमा विदेशमा काम गरी नेपाल आएर फेरि जान चाहेमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ को अनुसूची ८ बमोजिम सम्बन्धित देशस्थित नेपाली राजदूतावासको सिफारिसपत्र पनि अपलोड गर्नुपर्नेछ ।
गत आवमा वैदेशिक रोजगारीको लागि एक लाख ६७ हजारको श्रम स्वीकृति भएकामा चालु आर्थिक वर्षको १० महिनामा पाँच लाख बढीको श्रम स्वीकृति भएको कार्यालय प्रमुख अर्यालले जानकारी दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया