NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

स्वन्तन्त्रको ‘हाईहाई’

काठमाडौं । स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका केही उम्मेदवारले यसपटक ठूला भनिएका दललाई नै चुनौती दिएर अग्रता बनाएका छन् । प्रारम्भिक मत परिणाममा काठमाडौं महानगरपालिकासहित धनगढी, जनकपुर उपमहानगरपालिका, धुलिखेल नगरपालिकालगायतमा स्वतन्त्र उम्मेदवार अगाडि छन् ।

भरतपुर महानगरपछि सर्वाधिक चासोको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुवातदेखि नै लिड गरिरहेका छन् । एकीकृत समाजवादीका नेता माधवकुमार नेपालको बलियो पकड रहेको महानगरको वडा नं. ३२ को मतदान भइरहँदा बालेनले एमालेका केशव स्थापित, कांग्रेसकी सिर्जना सिंहलाई पछि पारिरहेका छन् ।

प्राप्त पछिल्लो मत परिणाममा बालेनले ३५६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितको ३०८ र सिर्जना सिंहको १९७ छ । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले मात्र १३ मत पाएका छन् भने समीक्षा बाँस्कोटाले अहिलेसम्म १० अंक पनि कटाउन सकेकी छैनन् ।

धनगढी उपमहानगरपालिकामा पनि मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल अगाडि छन् । सय मत गणना हुँदा आधाभन्दा बढी अर्थात् ५५ मत उनको पक्षमा परेको छ । उनीसँगै प्रतिस्पर्धामा रहेका कांग्रेसका नृपबहादुर बलको २२ छ । एमालेका उम्मेदवार यहाँ तुलनात्मक कमजोर देखिएका छन् । यो सामग्री तयार पार्दासम्म त्यहाँ एमालेका मेयर उम्मेदवार रणबहादुर चन्द मात्र पाएका छन् ।

जनकपुर उपमहानगरपालिकामा त स्वतन्त्र उम्मेदवारको दबदबा नै देखिएको छ । स्वतन्त्र हाबी हुँदा एमालेलगायत दल पछि परेका छन् ।

नेपालवाचलाई प्राप्त तथ्यांकमा यहाँ मनोज कुमार साह सुडीले लिड गरिरहेका छन् । उनलाई नजिकबाट रविकान्तलाल कर्णले टक्कर दिइरहेका छन् । उनी पनि सुडीजस्तै स्वतन्त्र उम्मेदवार हुन् ।

जनकपुरमा सुडीले २५९ मत प्राप्त गरेर अग्रता बनाइरहँदा कर्णले १२८ पाएका छन् । बलराम महतोको मत ६१ छ ।

त्यस्तै, काभ्रेको धुलिखेलमा पनि स्वतन्त्र उम्मेदवार बिदसरबहादुर बस्नेतले ५७२ मत ल्याएका छन् । उनको पछिपछि एमालेका उम्मेदवार अशोककुमार ब्याञ्जु छन् । गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका दयासागर श्रेष्ठ सबैभन्दा पछाडि छन् ।

उता, जुम्लामा पनि स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन् । त्यहाँस्थित चन्दनाथ नगरपालिकाका स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत ठूला दलका उम्मेदवारलाई पछि पारेर अगाडि लागेका हुन् । उनले ३६७ मत ल्याएका छन् ।

पोखरालगायत केही स्थानीय तहमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार पनि चर्चामा छन् । पोखरामा मतगणना सुरु भए पनि पनि गणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छैन ।