NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

दुईदिने बिदाबाट पछि हट्ने मनस्थितिमा सरकार

काठमाडौं । सातामा दुई दिन बिदा दिने निर्णय अव्यवहारिक भएको गुनासोपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य लागू गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि सरकार पछि हट्ने अवस्थामा पुगेको छ।

यसले सरकार नीतिगत रूपमा अस्थिर रहेको देखाएको छ। सरकारले यो निर्णयलाई एकडेढ महिना परीक्षणका रूपमा हेर्ने र समस्या देखिए पुनरवलोकन गर्ने बताउँदै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए।

सातामा दुई दिन बिदा दिने निर्णय कति प्रभावकारी भयो भन्ने विषयमा समीक्षा गर्न शुक्रबार मुख्य सचिव शंकरदास बैरागीले सचिवहरूको बैठक बोलाएका थिए।

उक्त बैठकमा सचिवहरूले स्वास्थ्य मन्त्रालयमातहतका सेवा तथा अन्य अत्यावश्यकीय सेवा सम्पादनमा अव्यावहरिक देखिएको ब्रिफ्रिङ गरेका थिए। ‘खासगरी स्वास्थ्यकर्मी तथा चिकित्सकबाट सातामा दुई दिन बिदा निर्णय अव्यवहारिक भएको गुनासो आएको छ,’ सामान्य प्रशासन मन्त्रालयका सचिव अधिकारीले भने, ‘दुई दिन बिदा दिने निर्णयबाट अत्यावश्यकीय सेवा प्रभावित नहोस् भन्ने हाम्रो तयारी हो।’

यस निर्णयबाट अत्यावश्यकीय सेवा प्रभावित नगर्न कर्मचारीलाई सट्टा बिदा दिने तयारी भएको पनि सचिव अधिकारीले बताए। ‘खानेपानी, विद्युत्, दूरसञ्चार, पासपोर्टलगायत अत्यावश्यकीय सेवा प्रभावित नहोस् भनेर आइतबार पनि कार्यालय खुला राख्ने र त्यस दिन काम गर्ने कर्मचारीलाई सट्टा बिदा दिने तयारी भएको छ,’ उनले भने।

सातामा दुई दिन बिदा दिने निर्णय कति प्रभावकारी भयो भन्ने विषयमा अर्को साता फेरि समीक्षा हुने उनले जानकारी दिए।

विकाससँग सम्बन्धित मन्त्रालयका अधिकारीहरूले सातामा दुई दिन बिदा दिने सरकारी निर्णयबाट विकास निर्माणका काम प्रभावित हुन सक्ने बताउँछन्।

सरकारको यो निर्णय आइतबार दोस्रोपटक लागू हुँदैछ। अघिल्लो आइतबार जेठ १ गतेबाट यो निर्णय लागू भएको थियो। सोमबार (जेठ २ गते) सार्वजनिक बिदा थियो। मंगलबारदेखि शुक्रबारसम्म सरकारी कार्यालय खुले। यी चार दिन बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय खुला राख्ने र कर्मचारी कार्यालयमै बस्ने सरकारको निर्णय आंशिक रूपमा मात्र लागू भयो। अधिकांश सरकारी कार्यालयहरूमा कर्मचारीहरू बिहान १० बजे पुगेर साँझ ५ बजे फर्किएका थिए। आजको नागरिक दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष