अछाममा उत्पन्न तनाव सामान्य बन्दै

अछाम । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ मा शनिबार एक युवक मृत भेटिएको घटनालाई लिएर गरिएको प्रदर्शनपछि उत्पन्न तनाव सामान्य बन्दै गएको छ ।
यही जेठ १७ गतेदेखि बेपत्ता रहेका भनिएका पञ्चदेवल विनायक नगरपालिका–४ का अन्दाजी १७ वर्षीय विनोद शाही नजिकैको भिरमा आज मृत भेटिएका थिए । निज शाहीको हत्या गरिएको भन्दै स्थानीयवासीले प्रदर्शन गर्दै प्रहरी कार्यालय र प्रहरीको गाडीमा तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले प्रदर्शनकारी तोडफोडमा उत्रेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायरसमेत गर्नुपरेको बताए । ‘प्रदर्शनकारीले प्रहरीलाई घटनास्थलसम्म पुग्न नदिएर प्रहरी कार्यालय र गाडीमा तोडफोड गर्न थाले,’ मरासिनीले भने, ‘बेलुका घटनास्थलमा पुगेर शव उठाउन दिइएपछि घटनाको अनुसन्धान थालिएको छ ।’
प्रदर्शनकारीले नगरपालिकाका प्रमुख र वडाध्यक्षले घटना घटाएको आरोप लगाएका छन् । गत वैशाख ३० गते भएको स्थानीय चुनावका दिन सो क्षेत्रमा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद र झै–झगडा भएको थियो । यही जेठ १७ गते पनि सो क्षेत्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच झगडा भएको थियो । मृतक एमाले निकटका युवा रहेको जनाइएको छ । ‘एकअर्कामा आरोप प्रत्यारोप गरी घटनालाई राजनीतिक रङ दिन खोजिएको छ,’ प्रजिअ मरासिनीले भने, ‘चुनावका विषयलाई लिएर सो क्षेत्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झगडा भएको थियो, पारिवारिक झगडा पनि रहेको भन्नेछ ।’
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया