बाँकेमा छ महिनामा ४४ कुष्ठरोगी थपिए

बाँके । चालु आर्थिक वर्षको छ महिनामा मात्रै कुष्ठरोगी ४४ जना फेला परेका छन् । जिल्लाका आठ स्थानीय तहमा पछिल्लो छ महिनामा ४४ नयाँ रोगी फेला परेको स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले बताए ।
उनका अनुसार सबैभन्दा धेरै नेपालगञ्ज र कोहलपुरमा कुष्ठरोगी छन् । नेपालगञ्जमा १३, कोहलपुरमा ११, जानकी गाउँपालिकामा छ, बैजनाथ र नरैनापुर गाउँपालिकामा पाँच–पाँच, खजुरामा तीन र डुडुवामा एक कुष्ठरोगी फेला परेका छन् । राप्तीसोनारी गाउँपालिकामा भने कुष्ठरोगी फेला परेका छैनन् ।
गत आवमा बाँकेमा १२८ कुष्ठरोगी फेला परेका थिए । सरकारले १२ वर्षअघि नै नेपालमा कुष्ठरोग निवारण घोषणा गरे पनि बाँके भने अहिले पनि कुष्ठरोगको उच्च जोखिममा देखिएको नेपालीले बताए।
उनले कुष्ठरोगीको पहिचान र उपचार निःशुल्क हुने भएकाले उपचारको पहुँचमा आउन सबैलाई आग्रह गरे । कुष्ठरोग जोखिमका हिसाबले बाँके देशकै दोस्रो स्थानमा छ । लुम्बिनी प्रदेशको कपिलवस्तु जोखिमको हिसाबले पहिलो स्थानमा छ । प्रति १० हजारमा एकजनाभन्दा कम भए निवारण भएको मानिन्छ । बाँकेमा प्रति १० हजारमा एक दशमलव ५९ मा कुष्ठरोगको सङ्क्रमण देखिएको छ ।
बाँकेको जानकी–३ मानपुरमा रेफरल अस्पतालका रूपमा रहेको साइनिङ अस्पतालमा कुष्ठरोगको उपचार हुने गरेको छ । अस्पतालमा चालु आवको छ महिनामा ७४ नयाँ कुष्ठरोगी फेला परेको अस्पतालका प्रमुख मङ्गल थारूले जानकारी दिए । तीमध्ये बाँकेका ३०, बर्दियाका २२, दाङका पाँचसहित अरु सल्यान, प्यूठान र भारतीय बिरामी हुन् ।
भारतसँगको खुला सीमानाका, नयाँ कुष्ठरोगी फेला पर्दै जानु, उपचार सेवाको पहुँच हुनु, जनसङ्ख्या पनि धेरै हुनुलगायत कारणले कुष्ठरोगीको सङ्ख्या बाँकेमा बढी देखिएको हुनसक्ने थारूको भनाइ छ । कुष्ठरोगको जोखिम कायमै रहेकाले यसको पहिचान, उपचार र निदान नै निवारणको पहिलो उपाय भएको जनाउँदै उनले कुष्ठरोगको उपचार निःशुल्क हुने भएकाले त्यस्ता बिरामीलाई सम्पर्कमा आउन आग्रह पनि गरे । कुष्ठरोग कुनै पाप र धर्मका कारण नभएर यो मानिसको श्वासप्रश्वासबाट सर्ने भाइरस भएकाले समयमै यसको पहिचान गरेर समयमै उपचार गरे शरीर अङ्गभङ्ग हुनबाट जोगिने उनको भनाइ छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया