रवि लामिछानेको नयाँ पार्टीले राष्ट्रिय दल बन्न कति मत ल्याउनुपर्छ ?

काठमाडौं । परम्परागत दलहरूलाई चुनौती दिने भन्दै संचारकर्मी रवि लामिछानेले मंगलबार आफ्नै नेतृत्वमा पार्टीको घोषणा गरेका छन् ।
आगामी कात्तिकको अन्तिम वा मंसिरको पहिलो साता हुने संघीय संसदको निर्वाचन अघि चर्चित टेलिभिजन पत्रकार रविको राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा भएपछि उनको आगामी रणनीति, उम्मेदवार, पोजिसनका विषयमा अनेक अड्कलबाजी सुरू हुन थालेका छन् । आफूमात्र देखिएर दल घोषणा गरेका रविको पार्टीमा कस्ता अनुहार हुनेछन् यसले समेत आगामी निर्वाचनमा असर पार्न सक्नेछ ।
रविले पार्टी घोषणा कार्यक्रममा अहिलेका प्रमुख तीन ठूला दल एमाले, कांग्रेस र माओवादीका शीर्ष नेताविरुद्ध उम्मेदवारी दिनेसम्मको चेतावनी दिएपछि उनको पार्टीले शक्ति के होला भन्नेबारे अहिलेदेखि नै चासो उत्पन्न हुन थालेको हो ।
रवि आफूमात्रै खुलेकोले उनी संघीय संसद्को निर्वाचनमा एक उम्मेदवार हुने पक्कापक्की जस्तै छ । तर प्रमुख तीन दलका तीनमध्ये एक नेतालाई सिंहदरबार पस्न नदिने गरी आफू अघि बढ्ने र उनीहरूविरुद्ध उम्मेदवारी दिने चेतावनी रविले दिएका छन् । तर त्यस्तो उम्मेदवारी आफ्नै हुने वा उनीहरूविरुद्ध अरु कुनै चर्चित सेलिब्रेटीलाई अघि सार्नेबारे रविले मुख खोलेका छैनन् । तर कांग्रेसका शेरबहादुर देउवा, एमालेका केपी ओली र माओवादीका प्रचण्डमध्ये एकजनालाई सांसद बन्नबाट रोक्ने उद्घोष रविले गरेका हुन् ।
राष्ट्रिय पार्टी बन्न कति मत ल्याउनुपर्छ ?
१६५ सबै निर्वाचन क्षेत्रमा रविको पार्टीले उम्मेदवारी दिने सम्भावना कम रहेको बताइन्छ । आफ्नो लोकप्रियताको बलमा रविले धेरै ठाउँमा उम्मेदवारी पनि दिने र देश बदल्ने नारा अघि सार्दै समानुपातिक एक भोट दिन अपिल गर्ने तयारी गरेका छन् ।
संघीय चुनावमा कम्तिमा एक सिट जिते र तीन प्रतिशत मत ल्याए राष्ट्रिय दल बन्न पाइनेछ । प्रत्यक्षमा एक सिट नजिते पनि तीन प्रतिशत मत ल्याए समानुपातिकततर्फको सांसदको हिस्सा लिन पाइनेछ ।
‘थ्रेसहोल्ड पहिलेको जस्तै हो । यसमा बदलाव आएको छैन । खसेको मतको सदर मतमा तीन प्रतिशत मत कटाएपछि समानुपातिक सांसदको हिस्सा लिन सकिन्छ’ निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले नेपालवाचसँग भने, ‘तर प्रत्यक्षमा कम्तिमा एक सिट जित्ने र यसरी तीन प्रतिशत मत ल्याए राष्ट्रिय दल बन्न पाइन्छ ।’
२०७४ सालको संघीय संसद्को निर्वाचनमा एमाले, कांग्रेस, माओवादी, राजपा र जसपा गरी पाँच दल मात्रै राष्ट्रिय दल बनेका थिए ।
गत चुनावमा ९५ लाख ४४ हजार ७४१ मत सदर भएको थियो । अब हुने चुनावमा एक कराेड बढी मत सदर हुन सक्ने देखिएको छ । यस्तोमा तीन प्रतिशत मतका लागि ३ लाख कटाउनैपर्ने हुन्छ ।
समानुपातिकतर्फ एमालेले ४१, काग्रेसले ४०, माओवादीले १७, राजपा र जसपाले ६\६ सिट ल्याएका थिए ।
एमालेले ३१ लाख ७३ हजार ४९४, कांग्रेसले ३१ लाख २८ हजार ३८९, र माओवादीले १३ लाख ३ हजार ७२१ मत ल्याएका थिए ।
राजपा नेपालले ४ लाख ७० हजार २०१ र संघीय समाजवादी फोरमले ४ लाख ७२ हजार दुई सय ५४ मत ल्याएर थ्रेसहोल्ड कटाउँदै समानुपातिकको मत सदुपयोग गरेका थिए । यी दुवै दलले झण्डै पाँचपाँच प्रतिशत मत ल्याएका थिए ।
पाँच दलबाहेक विवेकशील साझा, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चाले थ्रेसहोल्ड अर्थात न्यूनतम तीन प्रतिशत मत कटाउन सकेका थिएनन् ।
२०७४ सालमा नयाँ दलका रुपमा उदाएको विवेकशीलले २ लाख १२ हजार र राप्रपाले १ लाख ९६ हजार मत ल्याएका थिए ।
राप्रपा प्रजातान्त्रिकले ८८ हजार र नयाँ शक्तिले ८१ हजार मत ल्याए तर न्यूनतम तीन प्रतिशत नकटाएपछि यी दलले पाएको मत खेर गएको हो । राष्ट्रिय जनमोर्चाले ६२ हजार मत ल्याएको थियो । अन्य विभिन्न पार्टीको नाममा ३ लाख ५४ हजार आएको थियो ।
तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसके पनि एक सिट जित्ने दलले प्रतिनिधिसभामा भाग लिन पाउँछन् । तर राष्ट्रिय दलको मान्यता पाएका दलले मात्रै संसदीय दलको कार्यालयसहितको सुविधा पाउनेछन् ।
यस्तोमा नयाँ दललाई न्यूनतम तीन प्रतिशत मत ल्याउन पनि सहज भने छैन । राष्ट्रिय पार्टी बन्न प्रत्यक्ष एक सिट र तीन प्रतिशत मत ल्याउन नयाँ दललाई पनि उत्तिकै चुनौतीपूर्ण हुने देखिन्छ ।
मिडियामार्फत रवि लामिछाने लोकप्रिय रहे पनि उनका एजेण्डालाई पत्याउँदै नागरिकले कम्तिमा साढे तीन लाख माथि भोट दिए मात्रै समानुपातिकको सांसद पाउनेछ । सदर मत एक करोड मात्रै हुँदा तीन लाख र मत थपिए यो संख्या अझै बढ्नेछ । यसैले सहजै तीन प्रतिशत मत ल्याउन लामिछानेको नयाँ पार्टीलाई धेरै नै मेहनत गर्नुपर्ने देखिन्छ ।
२०७० सालको चुनावमा तत्कालीलन कमल थापाको राप्रपाले समानुपातिकमा २५ सिट ल्याएको थियो । राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डा अघि सार्दै आएका थापाको गाई चुनाव चिह्नमा आएको भोटलाई निक्कै अस्वभाविक मत मानिएको थियो । तर फेरि पनि लोकप्रिय कार्यक्रम र प्रोफाइलवाला व्यक्ति नदेखिंदासम्म लामिछानेलाई त्यस्तै गरी मत बटुल्न सहज नहुन सक्छ ।
स्वतन्त्र मत बटुल्ने गरी पार्टीको नाम नै स्वतन्त्र राखेपछि सुरुदेखि नै लामिछानेले आलोचना खेपेका छन् । स्वतन्त्र पक्षधरले स्वतन्त्रको नाममा लामिछानेको पार्टी दर्ता नगर्न निर्वाचन आयोगमा उजुरी नै दिएका छन् ।
ओली, देउवा र प्रचण्डविरुद्ध उम्मेदवारी दिने आँट गर्लान् रवि लामिछानेले ?
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया