अष्ट्रेलियामा लाखौं मौरी लकडाउनमा
काठमाडौं । अष्ट्रेलियामा लाखौं मौरीलाई लकडाउनमा राखिएको छ । घातक परजीवी भेटिएपछि सरकारले हजारौं मौरीलाई नष्ट गर्ने निर्णय पनि गरेको छ ।
सिड्नीनजिकको बन्दरगाहमा गत साता भेरोआ डिस्ट्रक्टर नामक किर्ना फेला परेको थियो । त्यसयता १०० किलोमिटर टाढासम्मका घारमा पनि यो परजीवी देखिएको छ । यसको प्रकोपले मह र खाद्य उत्पादन उद्योगहरुलाई लाखौं डलरको नोक्सान हुने खतरा छ ।
नयाँ जीव सुरक्षा क्षेत्रका मौरीपालकहरू अब अर्को सूचना नआएसम्म घार, मौरी वा महको चाका अन्यत्र लैजान पाउने छैनन् । विश्वव्यापी मौरीका लागि सबैभन्दा ठूलो खतरा मानिने भेरोआ परजीवीबाट मुक्त रहेको एक मात्र महादेश थियो अष्ट्रेलिया ।
यो परजीवी तिलको बीउ आकारको हुन्छन र मौरीलाई भाइरस सारेर मौरी समूहलाई कमजोर बनाउने र मार्ने गर्छ । न्यू साउथ वेल्सका सात ठाउँमा परजीवी भेटिएपछि त्यहाँका अधिकारीहरूले यसलाई नियन्त्रण गर्न केही जैविक सुरक्षा उपायहरू लागू गरेका छन् । त्यहाँ परजीवी देखा परेको स्थानको १० किलोमिटर वरपर रहेका ४०० घारहरू नष्ट गरिनेछ भने २५ किलोमिटरसम्मका घारलाई निगरानीमा राखिएको छ ।
राज्यभर मौरीलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न प्रतिबन्ध लगाउने ‘मौरी लकडाउन’ पनि लागू भइरहेको छ ।
न्यू साउथ वेल्सका कृषक संघका इयान म्याक्कोलका अनुसार यो महामारी रोक्न यी कदमहरू आवश्यक छन् । म्याक्कोलका अनुसार ती परजीवीहरु फैलिए भने अष्ट्रेलियाको मह उद्योगलाई मात्रै प्रतिवर्ष चार करोड ८० लाख अमेरिकी डलर घाटा लाग्नेछ ।
अष्ट्रेलियाको एक तिहाई खाद्य उत्पादन मौरीले गरिदिने परागसेचनमा निर्भर छ । यसमा बदाम, स्याउ र एभोकाडोको उत्पादन पर्छ । यसअघि क्वीन्सल्यान्ड र भिक्टोरियामा देखिएका अन्य प्रकारका भेरोआ परजीवीको प्रकोपलाई नियन्त्रण गरिएको थियो ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया