नेतृत्व कांग्रेसको भए पनि सरकार माओवादीले चलाएको छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारको नेतृत्वमा कांग्रेस भए पनि सरकार माओवादीले चलाइरहेको आरोप लगाएका छन् ।
बिहीबार बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा भएको आफूपक्षीय समूहको भेलामा उनले जनतामा माओवादीले सरकार चलाइरहेको सन्देश गएको बताए ।
‘कांग्रेसको नेतृत्वमा सरकार सञ्चालन भएको नौ महिना भइसकेको भए छ । तर, कांग्रेसजन र नागरिकको तहमा त्यसको आभाष हुन सकिरहेको छैन,’ उनले भने ’यो माओवादीले चलाएको सरकार भन्ने सन्देश प्रवाह भएको छ ।’
नेता कोइरालाले नेपथ्यमा कम्युनिस्ट एकताको कुरा जोडतोडले उठिरहेको तर सभापति देउवा सोतर्फ सजग हुन नसकेको आभास भएको आफूलाई भएको बताए ।
देउवा पार्टी विधानअनुसार चल्न नसकेको बरु केन्द्रीय सदस्य मनोनयनमा एकलौटी गरेर पार्टीमा अलग गुट सिर्जना गरेको उनले आरोप लगाए ।
‘पार्टीका भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा पनि उहाँले कसैसँग परामर्श गर्नु भएन,’ उनले भने ।
कांग्रेसभित्र सभापति देउवाले एकलौटी गरेको र सिंगो पार्टीको नेतृत्व गर्न नसकेको कोइराला समूहले विद्रोहको चेतावनीसमेत दिएको छ ।
कस्तो खालको विद्रोहको घोषणा गर्ने र अबको कदम के हुने भन्ने बारेमा शुक्रवारको बैठकले टुंगो लगाउने भेलामा सहभागी एक नेताले बताए ।
प्रतिक्रिया