रमेश खरेल उठे काठमाडौं १ बाट चुनाव जित्लान् प्रकाशमानले ?

काठमाडौं । नेपाल सुशासन पार्टीका संस्थापक एवं पूर्व डिआइजी रमेश खरेलले प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । खरेलको यो घोषणापछि यो क्षेत्रको चुनावी नतिजालाई लिएर अनेक अड्कलबाजी हुन थालेको छ ।
काठमाडौं १ बाट २०७४ सालको निर्वाचनमा कांग्रेस नेता प्रकाशमान सिंहले ८१८ मतको साँघुरो अन्तरले जित दर्ता गरेका थिए । तत्कालीन विवेकशील साझाका रविन्द्र मिश्रले १० हजार एक सय १८ मत ल्याउँदा परम्परागत क्षेत्रमा साँघुरो जित हात पार्दा सिंहले १० हजार ९३६ मत ल्याएका थिए । वाम गठबन्धनका अनिल शर्माले ५ हजार ३३६ मत ल्याएका थिए ।
स्थानीय तहको निर्वाचनमा पार्टीले नराम्ररी पराजय भोगेपछि मिश्रले पार्टीको नेतृत्वबाट राजीनामा दिएका छन् । पार्टी नेतृत्वबाट राजीनामा दिएपछि मिश्रले फेरि यसपटक पनि उम्मेदवार बन्ने सम्भावना कम देखिन्छ । तर यसपटक सिंहलाई चुनौती दिन खरेल अगाडि सरेका हुन् । यो चुनौतीमा मिश्र पनि मिसिए काठमाडौं १ मा रोचक त्रिपक्षीय भिडन्त हुनेछ । तर खरेल पनि अघि सरेपछि अलग पेशाबाट राजनीतिमा होमिएका मिश्रको उठ्ने सम्भावना कम देखिन्छ ।
सिंहको परम्परागत बलियो क्षेत्रमा अब के होला ?
सिंहले २०६४ सालको पहिलो, २०७० सालको दोस्रो संविधानसभा निर्वाचन पनि काठमाडौं १ बाटै जितेका थिए । २०७४ मा पनि जितेपछि सिंहले जितको ह्याट्रिक पनि गरे । तर अघिल्लोपटक मिश्रले दरो काउन्टर दिएको क्षेत्रमा यसपटक पूर्व लोकप्रिय प्रहरी अफिसर रमेश खरेल चुनौती दिन अघि बढेका हुन् । सुशासन पार्टीले संस्थापक खरेल काठमाडौं १ बाट चुनाव लड्ने घोषणा गरिसकेको छ ।
वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनले परम्परागत गढ जतिसुकै बेला भत्किन सक्ने देखाएको छ । र्याप गायनबाट सेलिब्रेटी बनेका इन्जिनियरसमेत रहेका बालेन शाहले काठमाडौंको मेयरमा यसपटक अप्रत्यासित जित निकाले । बालेनको जितपछि कांग्रेस र एमालेको आफूलाई कहीं पनि सुरक्षित देखेका छैनन् । घरघरसम्म संगठनको जालो भएका यी दुई दलका बलिया उम्मेदवारलाई पछि पार्दै बालेन मेयरको रुपमा उदाएका हुन् ।
काठमाडौंमा मेयर बन्दा बालेनले पूर्व मेयर केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहलाई पछाडि छोडे । सिंह प्रकाशमानकी श्रीमती पनि हुन् । स्थानीय तहको निर्वाचनको ६ महिनालगत्तै यसै महानगरभित्र पर्ने काठमाडौं क्षेत्र नम्बर १ बाट प्रकाशमान आफैं प्रतिनिधिसभामा उठ्दैछन् । यसैले स्थानीय तहको नतिजा आलो नै रहेको बेला हुने प्रतिनिधिसभाको निर्वाचनलाई धेरैले रोचक हुने ठानेका छन् । किनकी अघिल्लोपटक साझाका मिश्रले सिंहसँग दरो चुनावी प्रतिस्पर्धा गरेका थिए ।
सक्रिय राजनीतिमा कम रहेकी सिर्जनालाई उठाएको भन्दै सिंहको आलोचना पनि भएको थियो । १४ औं महाधिवेशनमा पहिलो चरणमा सिंह आफैं सभापतिमा भिडेका थिए । तर दोस्रो चरणमा उनले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरिदिए । सिंहको समर्थनपछि देउवा सभापतिमा निर्वाचित भए भने डा. शेखर कोइराला पराजित हुन पुगे ।
आफूलाई लगाएको त्यही गुन तिर्न देउवाले सिंहको सिफारिसमा सिर्जनालाई काठमाडौंमा कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बनाएको भनेर आलोचना गर्नेहरू पनि छन् । तर सिंह परिवारले यस्तो आरोपलाई अस्वीकार गर्दै आएको छ । लामो समय देउवाको विरोध गरे पनि रातारात उनलाई समर्थन गरेर सभापति बनाएको भन्दै संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहसँग नराम्ररी रिसाएका छन् । यही रिसको झोक फेर्न पनि कांग्रेसकै नेताहरूले सिर्जनालाई भोट नहालेको बताइन्छ । स्वतन्त्रका बालेनभन्दा सिंह २० हजार मतले पछि परेकी थिइन् । यस्तै नियति प्रकाशमानले पनि काठमाडौं १ मा भोग्नुपर्ने सम्भावनालाई नकार्न नसकिने बताइन्छ ।
यसैले मंसिरको लगत्तै हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा पनि सिंहलाई सहज नहुने आँकलन गरिएको छ । महानगरमा कांग्रेस र एमालेका परम्परागत पकड रहेको ठाउँमा पनि बालेनले सबैभन्दा भोट ल्याएर जितेका थिए । यसैले परम्परागत दलका निम्ति काठमाडौंका धेरै निर्वाचन क्षेत्र आगामी चुनावमा सहज नहुन सक्छ । स्वतन्त्रबाट उम्मेदवारी दिने लहर, नयाँ पार्टीको लहरले परम्परागत दललाई चुनौती पेश गरेका छन् ।
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
जय सुशासन
रमेश खरेल सर