तिलिचो तालकाे आधार शिविरमा विद्युत् पुर्याइँदै
मनाङ । हिमाली जिल्ला मनाङको ३३ केभी स्यार्कु सवस्टेशनले तिलिचो तालमा विद्युत् पुर्याउने भएको छ ।
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल वेस क्याम्प र थोराङ्ला हाई क्याम्पसम्म चालु आर्थिक वर्ष ०७९/८० मा केन्द्रीय लाइनको विद्युत् पुर्याइने भएको हो ।
गत वर्ष बाढीपहिराले क्षति पुर्याएको राष्ट्रिय प्रसारण लाइनको मर्मत सकिएर चार्ज भएको नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीले जानकारी दिए ।
विद्युत् प्राधिकरणले तिलिचो तालसम्म विद्युत् पुर्याउने योजना पूरा गर्ने उनले बताए । उनका अनुसार हालै मात्र पोल, तारलगायत सबस्टेशनमा चार्ज भएपछि विद्युत् सेवा प्रवाह भएको छ ।
‘क्षति पुगेको एक वर्षपछि मर्मत भएपछि नेपाल विद्युत् प्राधिकरणको ३३ केभी सबस्टेशनमार्फत सेवा प्रवाह गरिएको छ ।
अब मनाङवासीलाई विद्युत्को पहुँचमा पुर्याउन सफल हुनेछौं,’ सुवेदीले भने । गत वर्षको बाढीपहिराले बिजुलीको पोल, तार पुरिनाका साथै बाढीले क्षति पुर्याएपछि जिल्लामा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो ।
लघु जलविद्युत्को भरमा रहेको हिमाली जिल्ला मनाङमा राष्ट्रिय प्रसारण लाइनबाट पहिलोपटक चामे सदरमुकामसम्म विद्युत् सेवा प्रवाह भएको थियो । जिल्लामा पहिलो पटक विसं २०७७ मा केन्द्रीय प्रसारण लाइन जोडिएको थियो ।
राष्ट्रिय प्रसारण लाइनसहित अन्य लघु जलविद्युत्मा समेत बाढीपहिराले क्षति पुर्याउँदा मनाङ एक वर्षदेखि टुकीको भरमा छ । बाढीपहिराले प्रसारण लाइनमा साढे तीन करोडको क्षति पुर्याएकाे थियो ।
विसं २०७७ को फागुनमा पहिलोपटक नेपाल विद्युत् प्राधिकरणको ३३ केभीको राष्ट्रिय प्रसारण लाइन मनाङ विद्युत् सेवा प्रवाह भएको थियो । तर केन्द्रको लाइन प्रसारण भएको पाँच महिनामा नै बाढीपहिराले क्षति पुर्यायो ।
हिमाली जिल्ला मनाङ विकट भएकाले पनि मर्मत कार्यमा अलि बढी ढिलाइ भएको प्रमुख सुवेदीले जानकारी दिए । राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा प्रवाह भएसँगै अब जिल्लामा सरकारी कार्यालयका साथै यस प्रसारण लाइनको विद्युत् सेवा जडान भएका क्षेत्रमा सहज रुपमा विद्युत् प्रवाह भएको छ ।
जिल्ला अस्पताल मनाङमा विद्युत् अभावका कारण विभिन्न उपकरण सञ्चालन हुन सकेका थिएनन् । विद्युत् प्रवाह हुन थालेपछि अस्पतालको सेवामा सहज हुने विश्वास लिइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया