भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द
मंगलबारे । रुघाखोकी र ज्वरो बढेपछि इलामका बिद्यालयहरू बन्द गर्न थालिएका छन् । पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन् ।
केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो । पछिल्लो समय सूर्योदय नगरपालिकामा सञ्चालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र एभरल्यान्ड इन्टरनेशनल एकेडेमीमा बन्द गरिएको छ । एक साताका लागि विद्यालय बन्द गरिएको हो ।
परीक्षा सञ्चालन भइरहेका अवस्थामा पनि बिद्यालय बन्द गर्नुपरेको बताइएको छ । चिकित्सकहरूले यसलाई भाइरल समस्या भएको जनाएका छन् ।
गाउँगाउँमा बिरामी हुने क्रम बढेपछि अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । इलाम अस्पतालसहित फिक्कल बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेलगायतका स्वास्थ्य संस्थामा बिरामीको भीड लाग्ने गरेको छ । साथै निजी अस्पताल तथा मेडिकलमा समेत बिरामीको उत्तिकै चाप बढेको छ ।
ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने, छाती र घाँटी दुख्नेलगायतका लक्षण बिरामीमा छ । बालबालिकामा समेत क्षणमा ज्वरो आउने क्षणमै ज्वरो घट्ने, शरीरका केही भागमा तापक्रम बढे पनि केही भागमा चिसोपना नै रहनेलगायतका लक्षण देखिएको छ । कतिपय बिरामीमा अधिक टाउको दुख्ने, बान्ता हुने लक्षणसमेत देखापरेको छ ।
अस्पतालमा शय्या नहुँदा बिरामीलाई भुइँमा राखेरसमेत उपचार गराइँदै आएको छ । बिरामीलाई चिकित्सकले भीडभाडमा नजान र मास्कको प्रयोग गर्न सुझाव दिँदै आएका छन् । पानी उमालेर मात्र खाने, चिसोबाट जोगिनसमेत स्वास्थ्यकर्मीको सल्लाह छ । बर्खामा दूषित पानीसहितको भेल पानीको मुहानमा पस्ने र सोही पानी प्रयोगका कारण पनि ज्वरोका बिरामी बढेको जनाइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया