घरदेखि कार्यालयसम्म एउटै टेस्ट : गाउँपालिकाको भान्सेमा अध्यक्षलाई म्याडम नै बेस्ट !
काठमाडौं । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँद आफ्नै श्रीमतीलाई भान्सेमा नियुक्त गरेपछि विवादमा तानिएका छन् । कार्यालय सहायक सरहको तलब–सुविधा दिएर साउँदले श्रीमती जयसरा साउँदलाई नियुक्ति गरिएको सूचना बाहिरिएपछि उनी विवादमा तानिएका हुन् ।
अध्यक्ष साउँदकै सिफारिसमा सेवा करारको सम्झौतामा जेठ १५ देखि लागु हुने गरी ६ महिनाको लागि नियुक्त गरिएको प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जानकारी दिए । करार नियुक्ति गर्दा गाउँपालिकाले सार्वजनिक सूचना जारी नगरी अध्यक्षकै दबाबमा श्रीमतीलाई भान्सेमा नियुक्त गरेका हुन् ।
‘कुनै सूचना निकालिएको होइन । खाना पकाउने जस्तो विषय भएकाले अध्यक्षज्यूले विश्वासिलो मान्छे चाहियो भन्नुभयो । उहाँले दुई जनाको नाम दिनुभयो । पहिला कमलबहादुर साउँदको नाम दिनुभएको थियो’, उनले भने, ‘पछि उहाँले हैन खाना बनाउन अन्य मान्छे राख्नुभन्दा म्याडम नै उपयुक्त हुन्छ भनेपछि हामीले करार नियुक्ति दिएको हो । कानुनले त सिधै नियुक्त गर त भन्दैन । यस्तो गर्नु गलत हो ।’
उनी अहिले कामको सिलसिलामा काठमाडौंमै रहेका छन् । यसैविषयमा अध्यक्ष साउँदसँग जिज्ञासा राख्न खोज्दा उनले फोन काटेर ‘स्वीच अफ’ गरे । श्रीमतीलाई भान्सेमा नियुक्त गरेपछि उनको चौतर्फी विरोध भएको छ । तनावमा रहेका उनी केस मिलाउनका लागि नेताहरूको घरदैलोमा चहारिरहेका छन् ।
करार सम्झौता अनुसार अध्यक्षका श्रीमतीले २१ हजार ३०० पारिश्रमिक पाउने छिन् । वार्षिक १० हजार पोशाक भक्ता, चाड–पर्वमा वर्षको एकपटक एक महिनाको पारिश्रमिक र भत्ता पाउनेछिन् । भान्सेमा नियुक्त भएकी उनलाई कार्यालयबाट कुनै समितिको अनुगमन तथा यस्तै प्रकृतिको अनुगमनका लागि जाँदा दैनिक भत्तासमेत उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।
वैशाखमा भएको स्थानीय तह निर्वाचनमा साउँद कांग्रेसबाट निर्वाचित भएका थिए । माओवादीको प्रभाव क्षेत्र रहेको यस गाउँपालिकामा उनी ३ हजार १२७ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका पहलबहादुर साउँदले २ हजार ८ सय ९७ मत पाएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया