बेनी–जोमसोम सडक अवरुद्ध
म्याग्दी । हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
भिरबाट पहिरो खसेर सडक पुरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । पहिराले सडक पुर्नुका साथै कालीगण्डकी नदी बग्ने ठाउँलाई साँघुरो बनाएको छ । पहिरो खसेको क्षेत्रमा विस्फोटक पदार्थको प्रयोग गरेर पहाड फुटाएर सडक विस्तार गरिएको थियो ।
पहिरो खसेपछि म्याग्दीबाट गएका र मुस्ताङबाट बेनीतर्फ आएका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । मानिस पैदल हिँड्न पनि नसकिने भएकाले वैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
पहिरो नरोकिँदा र सडक नखुल्दासम्म घाँसाबाट पहिरोथाप्ला म्याग्दीको कोप्चेपानी–गाडपार हुँदै दाना निस्कने वैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । स्थानीय बासिन्दा मुस्ताङ भ्रमणमा आएका पर्यटक तथा मुक्तिनाथ दर्शन गर्न आएका भक्तजन सडक अवरुद्ध हुँदा प्रभावित बनेका छन् ।
सांसद प्रेमप्रसाद तुलाचनले पहिरो रोकिएपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाका उपकरण परिचालन गरेर पहिरो पन्छाएर सडक खुलाइने बताए ।
दुई दिनदेखिको वर्षात्का कारण आएको बाढीले मुस्ताङको कैकुखोलामा सडक बगाएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार रुप्सेखोला र बेगखोलामा पनि सडक अवरुद्ध भएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले १६ वर्षमै पेन्सन पाउने
-
पोखराको प्राइम सहकारीमा डेढ अर्ब हिनामिना, अध्यक्षसहित आठ पक्राउ
-
लागूऔषध मुद्दामा ७७ जना पक्राउ
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने
-
पाठेघर क्यान्सरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने
प्रतिक्रिया