दमौली अस्पतालमा स्वास्थ्यकर्मी र उपकरण माग
दमौली । दमौली अस्पतालमा स्वास्थ्यकर्मी र उपकरण माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङलाई ज्ञापनपत्र बुझाइएको छ । अस्पताल व्यवस्थापन समितिले स्वास्थ्यकर्मी र विभिन्न उपकरण उपलब्ध गराइदिन माग गर्दै मन्त्री खापुङलाई ज्ञापनपत्र बुझाएको हो ।
अस्पतालमा हाल स्वास्थ्यकर्मी अभाव भएकाले नौ जना स्वास्थ्यकर्मी माग गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिए । नौ जना स्वास्थ्यकर्मीका लागि वार्षिक ४४ लाख ७२ हजार रुपैयाँ खर्च हुने अनुमान सहितको ज्ञापनपत्र मन्त्रीलाई बुझाइएको थापाले बताए ।
उनका अनुसार एकजना स्त्रीरोग विशेषज्ञ, प्रयोगशालामा कल्चर गर्नका लागि विएमएलटी, रेडियोग्राफर, एनेसथेसिया सहायक, शल्यक्रियाका लागि दुईजना स्टाफ नर्स, एकर एक जना फार्मेसी र स्वास्थ्य सहायक माग गरिएको छ । अस्पतालमा दुईजना हाडजोर्नी विशेषज्ञ रहेको र शल्यक्रिया सेवासमेत सञ्चालन गर्ने तयारी गरिएको छ ।
यसैगरी अस्पतालले विभिन्न उपकरण माग गरेको छ । अस्पतालमा अति आवश्यक रहेको दुई करोड मूल्य बराबरको इन्डोस्कोपी मेशिन माग गरिएको छ । ‘जनशक्ति छ तर उपकरण नभएकाले यो सेवा दिन सकेका छैनौ ’ थापाले भने ।
स्वास्थ्यमन्त्रीले स्वास्थ्यकर्मी र उपकरण उपलब्ध गराउनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री खापुङले अस्पताललाई ५० शेयामा स्तरोन्नतिका लागि पनि पहल गर्ने बताए । आफूहरुले स्वास्थ्यकर्मी र उपकरणका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापनका लागि अर्थमन्त्रीसँग पनि कुराकानी गरेको थापाले बताए । १५ शैया स्वीकृत अस्पतालले ५० शैयाको सेवा दिइरहेको छ । अस्पतालमा हाल दैनिक दुई सय ५० भन्दा बढी बिरामी सेवा लिन आउने गरेका छन् । गर्मी मौसमका कारण भर्ना हुने बिरामीको सङ्ख्या २०/२५ छन् ।
अस्पतालमा फोहरपानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्स सहितको भवन निर्माण, आँखा विशेषज्ञ सहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, एनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्ष लगायतका सेवा विस्तार गरिएको छ । साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि व्यवस्था गरिएको छ ।
अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवासमेत प्रदान गर्दै आइरहेको छ । विसं २०३४ स्वास्थ्यचौकीका रुपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालका रुपमा स्तरोन्नति भएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया