मेलम्चीका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य
मेलम्ची। मेलम्चीको पाँचपोखरीस्थित सडक भासिँदा नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मेलम्ची-९ ज्यामिरे राम्चेडाँडामा पहिरो गएर सो सडक भासिएको हो । उक्त क्षेत्रमा करिब दुई साताअघि पहिरो गएर सडक भासिएको थियो ।
यो सडक भएर पाँचपोखरी थाङ्पाल गाउँपालिकाका आठवटै वडा र मेलम्चीका ९ र १० वडाका स्थानीय आवतजावत गर्ने गरेका छन् । यी स्थानीय र यस भेगको यातायातका लागि यो नै एकमात्र सडक हो । यो सडक तलबाट भासिएर पहिरो खसेको छ तर माथिबाट सवारीसाधन तथा मानिस यात्रा गर्ने गर्दछन् ।
सडक जीर्ण हुँदासमेत जोखिम लिएर जसोतसो यातायातका साधन गुडिरहेका छन् । स्थानीयले अर्को विकल्प नभएकाले यात्रा गर्ने गरे पनि कतिबेला अप्रिय घटना हुन्छ भन्ने त्रास रहेको पाँचपोखरी थाङ्पाल गाउँपाकिाका स्थानीय सुन्दर सापकोटाले बताए ।
केही दिन अगाडि मात्रै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, इञ्जिनीयर लगायतको टोलीले अवलोकन गरी तत्काल सडक मर्मत गर्ने बताएका थिए । सडक मर्मतको काम भने अझै सुरु हुन सकेको छैन ।
पाँच पोखरी थाङ्पाल गाउँपालिकाका प्रवक्ता नारायण भट्टराईले मेलम्ची नगरपालिकालाई छिटोभन्दा छिटो सडक मर्मत गरी व्यवस्थित बनाउन आग्रह गरेका छन् । गाउँपालिका अध्यक्ष टाँसी लामाले पटकपटक नगरपालिकालाई आग्रह गरेको तर काम नभएको गुनासो गरे ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले उक्त सडक मर्मतका लागि बजेट विनियोजन भइसकेको भन्दै अब काम सुरु हुने जानकारी दिए । उनले जोखिममा रहेको सो सडक माथि काट्ने ठाउँ नभएकाले तलबाट पर्खाल उठाएर सडक बग्नबाट रोक्नुपर्ने भएकाले ढिला भएको बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया