मौसमका कारण त्रिभुवन विमानस्थलमा एउटा जहाजको ‘मिसएप्रोच’, अर्को ‘डाइभर्ट’

काठमाडौं । बिहीबार राति मेघगर्जनसहित परेको भिषण पानीले निम्तिएको मौसम प्रतिकुलताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा जहाजले ‘मिसएप्रोच’ गरेको छ भने अर्को ‘डाइभर्ट’ भएको छ ।
मौसम खराबीका कारण पाइलटलाई अवतरण गर्न असहज भएपछि अवतरणको अन्तिम चरणमा पुगेको सिंगापुर एयरलाइन्सको जहाजले पहिलो एप्रोच ‘मिस’ गरेको थियो ।
अर्को चरणमा जहाज पुनः अवतरण भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकार ज्ञानेन्द्र भुलले जानकारी दिए । सिंगापुर एयरलाइसको उक्त जहाज साताको पाँचदिन राति १० बजे विमानस्थलमा अवतरण भएर ११ बजे ‘टेक अफ’ हुने गर्छ ।
अत्यधिक वर्षा र कालो बादलका कारण ‘भिजिबिलिटी’ कम भएर जहाजले एप्रोस मिस गरेको भुलले बताए । उनका अनुसार सिंगापुर एयरलाइन्सको उक्त जहाजलाई तीन हजार मिटरसम्मको भिजिबिलिटी आवश्यक हुन्छ । यसमा समस्या आउँदा अवतरण गर्न असहज भएको उनले बताए ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मौसम अति खराब भइरहेको बेलामा विमानस्थलको ‘एप्रोच एरिया’मा समस्या आइरहेको हुन्छ ।
‘सामान्यतया मौसम बिग्रिएको बेलामा, अत्याधिक वर्षाको बेलामा भिजिबिलिटी कम हुन्छ । जसकारण पाइलटहरू एप्रोच मिस गर्न बाध्य हुन्छन्,’ उनले भने, ‘हिजोको घटना पनि प्रतिकूल मौसमकै उपज हो । मौसम अनुकुल नभएका कारण अवतरण गरेर पाइलटहरूले रिस्क लिन चाहेनन् । त्यसैले जहाजले सुरुको एप्रोच मिस गरेर अर्कोपटक अवतरण ग¥यो ।’
त्यस्तै, दुबईबाट आउँदै गरेको फ्लाई दुबईको जहाज भने मौसम प्रतिकुल भएपछि ‘डाइभर्ट’ भएको थियो । सूचना अधिकारी भुलका अनुसार फ्लाई दुबईको जहाजलाई दुई हजार आठ सय मिटरसम्मको भिजिबिलिटी आवश्यक पर्छ । उक्त जहाज भने सिमरा माथिको मौसममा खराबी आइरहेका कारण उतैबाट ‘डाइभर्ट’ भएको उनले बताए ।
सामान्यता जहाजको क्याटोगोरी (ए, बी, सी, डी) अनुसार त्यसलाई आवश्यक भिजिबिलिटी पनि फरक हुन्छ । योसँगै जहाज कुन एप्रोचमा उडिरहेको छ भन्ने विषयले पनि भिजिभिलिटीमा प्रभाव पर्छ । जहाजका विभिन्न चरण अन्तर्गत अवतरणको चरणमा ल्याडिङ गियर झरिसकेपछि कहिलेकाहीं समस्या देखिन्छन् । अवतरणको उक्त चरणमा कहिले भिजिबिलिटीमा समस्या आउँछ भने कहिले रनवेमा केही समस्या (मानिस, गाडी, जनावर) देखा पर्छ । यस्तो अवस्थामा पाइलटहरूले ‘एप्रोच मिस’ गरेर पुनः अर्कोपटक अवतरण गर्छन् ।
प्रतिक्रिया