NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ७ गते

भोजपुरे खुकुरीको माग धान्न मुस्किल

भोजपुर । देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरीको माग धान्न समस्या हुने गरेको छ । दक्ष कालीगढ अभावमा उत्पादन कम हुँदा भोजपुरे खुकुरीको माग धान्न समस्या भएको हो ।

पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले कालीगढ पेसा लोप हुने अवस्थामा पुगेपछि खुकुरी उत्पादनमा कमी आएको छ । स्थानीय र बाहिरी जिल्लासँगै अन्तर्राष्ट्रिय बजारसम्म यसको माग हुने भए पनि माग अनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यवसायी बताउँछन् । खुकुरी बनाउने पेसालाई अपहेलनाको रुपमा हेरिने गरिएकाले यो पेसा संकटमा परिरहेको व्यावसायी बताउँछन् ।

उद्योगबाट भोजपुरे, सिरुपाते र चित्लाङले कोथीमोडा लगायतका खुकुरी बन्ने गरेका छन् । यस्ता खुकरी विश्व बजारमासमेत प्रख्यात छन् । उत्पादन भएका खुकुरी आकार अनुसार न्यूनतम एक हजारदेखि अधिकतम दश हजार रुपैयाँसम्म पर्छ । बाहिर जिल्लाबाट दुई/चार सय खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने रञ्जीता खुकुरी उद्योगका सञ्चालक गणेश गजमेरले बताए । ‘‘भोजपुरे खुकुरीको माग धान्न मुस्किल छ’’ उनले भने, ,‘‘देशका विभिन्न ठाउँबाट माग आउछ । माग अनुसारको खुकुरी उत्पादन गर्न सकिएको छैन ।’

विगतका वर्षमा धेरै कालीगढ भए पनि पछिल्लो समयमा आएर व्यावसायिक रुपमा यो काम गर्ने मानिसको सङ्ख्या न्यून हुँदै गएको छ । बढी मेहनत गर्नुपर्ने साथै व्यवसाय गर्नको लागि आवश्यक हुने कच्चापदार्थ अभावले नयाँ पुस्तामा यसप्रति मोह कम भएको कालीगढ हर्कबहादुर विश्वकर्माले बताए ।

विश्वकर्माले भने ,‘‘खास गरेर यो पेसालाई पुस्तान्तरण गर्न सकिएन । नयाँ पुस्ताले यो पेसालाई निरन्तरता दिन छाडेको छ । अलिक समयपछि कालीगढ पाउन मुस्किल पर्छ ।’’ पेसा लोप हुनबाट बचाउन राज्यले प्राथमिकता दिनुपर्ने विश्वकर्माले बताए । ‘‘मैले ४० वर्षबाट यही पेसा गरिरहेको छु’, उनले भने, ‘‘यतिका समय यही पेसा गर्दा पनि मलाई आर्थिक रुपमा समस्या नै छ । मेहनत बढी गर्नुपर्छ । आम्दानी कम छ । राज्यको सहयोग छैन । त्यसैले पछिल्ला पुस्ताले यो पेसा गर्न रुचाउन छाडे ।’

स्थानीय सरकार सञ्चालनमा आए पनि प्रोत्साहनमूलक सहयोग नपाएको कालीगढ प्रेमकुमार लुवारले बताए । व्यवसाय सञ्चालन गर्न स्थानीयस्तरमा पाउने कच्चा पदार्थको अभाव रहेको उनको भनाइ छ । ‘‘राज्यको तर्फबाट हामीले सहयोग पाउन सकेका छैनौँ’, लुवारले भने, ‘हामीलाई व्यवसाय सञ्चालन गर्न धेरै समस्या छ । दैनिक कामकाजको लागि चाहिने, कोइला, बिँड, दापका लागि चाहिने काठ आदिको समस्या हुन्छ ।’ सामुदायिक वनबाट काठ सहज रुपमा ल्याउन पाउने अवस्था नरहेको उनीहरुको भनाइ छ । आफूहरुले उत्पादन गरेका खुकुरीले पनि मेहनत अनुसारको मूल्य पाउन नसकेको कालीगढको भनाइ छ ।

खुकुरी उत्पादन गर्ने कालीगढ विचौलियाको मारमासमेत पर्ने गरेका छन् । ‘‘कालीगढका काममा धेरै दुःख छ’, लुवारले दुःख व्यक्त गरे ‘अर्कातिर कच्चापदार्थ जुटाउन नै समस्या छ । कम्तीमा पनि राज्यले हामीलाई यहाँ लाग्ने विद्युत्, फलाम, खुकुरी बनाउन आवश्यक पर्ने मेसिन, उपकरण खरिदमा केही सहयोग गरी दिए राहत मिल्ने थियो । राज्यले उचित वातावरणसँगै साना तथा मझौला उद्योगलाई प्राथमिकता नदिँदा व्यवसाय संकटमा परेको उद्योग सञ्चालकको भनाइ छ ।

कालीगढ पेसालाई बचाइ राख्नको लागि खुकुरी बनाउने लगायतका तालिम सञ्चालन गरिए पनि युवा शक्ति विदेश जाने लहरले समस्या भएको स्थानीय खुकुरी उद्योग सञ्चालक हीरा श्रेष्ठ बताउँछन् । ’खुकुरीको स्थानीयस्तरमैे माग बढी छ’, व्यवसायी श्रेष्ठले भन्छन् ,‘गाउँघरमा परम्परागत रुपमा गरिने पेसा धेरैले छाडी सके । सदरमुकाममा उत्पादन भएका खुकुरी गाउँतिर पठाउनुपर्ने अवस्था छ । बाहिरबाट आएको माग पूरा गर्न सकिएको छैन् । यही अवस्था रहेमा पेसालाई जोगाएर अर्को पुस्तामा लैजान नै समस्या छ । भोजपुरे खुकुरी नै संकटमा पर्ने अवस्था छ ।’(रासस)