अवैध सुन भित्र्याउन संलग्न यी हुन् विमानस्थलमै खटिएका कर्मचारी
काठमाडौं । विदेशबाट अवैधरूपमा ल्याएको सुन भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै संलग्नता रहेको खुलेको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी लक्ष्मण गुरागाईँले विमानस्थलबाट सुन प्रवेश गराउन सहयोग गरेको खुलेपछि उनीसहित सुन ल्याउने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लविपुरका ३४ वर्षीय कमल घिमिरेले विदेशबाट ल्याएको एक किलो १६५ ग्राम तौलको १० थान सुनको सिक्री नेपाल भित्र्याउन गुरागाईँले सहयोग गरेका थिए । विमानस्थल सुरक्षा कार्यालयका अनुसार गुरागाईँले अध्यागमन क्षेत्रमा रहेको शौचालयमा गई घिमिरेले ल्याएको सुनको सिक्रीहरू लिइ भन्सार जाँच क्षेत्र पास गराई पुनः सोही क्षेत्रको शौचालयमा आएर सुन फिर्ता दिएको खुल्न आएपछि उनलाई पनि पक्राउ गरिएको हो ।
घिमिरे फ्लाई दुबईको उडानद्वारा दुबईबाट शुक्रबार नेपाल आएका थिए । उनीमाथि जाँच गर्दा उक्त सिक्री लुकाइछिपाइ लैजान लागेको अवस्थामा फेला पारेपछि पक्राउ गरिएको र अनुसन्धानका क्रममा गुरागाईँको संलग्नता देखेपछि उनलाई पनि नियन्त्रणमा लिइएको छ । सुनसहित दुवै जनालाई थप अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया