बस्तीपुरवासीको गुनासो : प्रदीप गिरीलाई अन्तिम श्रद्धाञ्जली दिन पाइएन
अजितकुमार झा/अरुणकुमार यादव, इनरुवा । सिरहा लहान नगरपालिका–१४ बस्तीपुरका ८० वर्षीय फेकु महतोको ठूलो इच्छा थियो, नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई अन्तिम बिदाइ तथा श्रद्धाञ्जली अर्पण गर्ने । तर आफ्ना प्रिय नेताको पार्थिव शरीरमाथि श्रद्धाञ्जली अर्पण गर्ने उहाँको इच्छा त्यत्तिकै रह्यो ।
उपचारका क्रममा निधन भएका कांग्रेस नेता गिरिको निधनपछि काठमाडौँको पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरेका कारणले उनको गृह जिल्ला तथा त्यस क्षेत्रका स्थानीय अन्तिम बिदाइ गर्नबाट वञ्चित भएका हुन् । गिरिको अन्तिम संस्कार गाउँमै गर्नका लागि स्थानीयवासी र स्वयम् उनले इच्छा व्यक्त गरेका थिए ।आफ्ना प्रिय नेता गिरीलाई अन्तिम श्रद्धाञ्जली दिनबाट वञ्चित हुनुपरेको बस्तीपुरवासीको गुनासो छ ।
गिरीको निधन भएको दिन बस्तीपुरवासीले गाँउमै रहेको उनको आश्रममा अन्तिम संस्कार गर्नका लागि प्रतिक्षा गरेर दिनभरी बसेको भए पनि काठमाडौंबाट उनको पार्थिव शरीर नआएपछि बस्तीपुरका स्थानीय निराश भएका थिए ।
शुभेच्छुक तथा नेताकार्यकर्ताहरूको प्रदीप बाबुको अन्तिम पटक मुख हेर्ने इच्छा थियो तर सयौँ स्थानीयवासी सो अवसरबाट वञ्चित भएको आश्रममा बस्दै आएका दीप परियारले बताए । उनले भने, “गिरीले आफ्नो मृत्यु भएपछि अन्तिम संस्कार आश्रममै गर्नुहोला भनेका थिए । सोहीअनुसार हामीले उनको शव गाउँमा ल्याउन आग्रह गरेका थियौँ तर त्यसो भएन ।”
बस्तीपुर र समाज निर्माणमा प्रदीप दाइको ठूलो योगदान भएकाले त्यो योगदानको सम्मान स्वरुप पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने इच्छा पूरा नहुँदा दुःखित भएको स्थानीयवासी चलितर साहले बताए । शान्त र शालिन स्वाभावका व्यक्तित्व नेता गिरि पुर्खौली गाउँ बस्तीपुर नजिकै खुट्टीखोलाको पश्चिम किनारको आश्रममा बस्दै आएका थिए । प्रदीप दाइले आफ्नो अन्तिम संस्कार आश्रममै होस् भन्ने इच्छा व्यक्त गरेको स्थानीय रामकृष्ण चौधरीले बताए । उनका अनुसार प्रिय नेता गिरिको निधनले बस्तीपुरवासी शोकमा डुबेका छन् । अन्तिम संस्कार गाउँमा नहुँदा आफूहरूलाई झनै दुःख लागेको चौधरीको भनाइ छ ।
आफूहरूसँगै खेलेको, हुर्केको, भलाकुसारी गरेको, विभिन्न कालखण्डमा सहययोग एवं सद्भाव बाँडेका नेता गिरीको निधनका कारण गाउँ शोकाकुल छ । विसं २००४ मा जन्मिएका गिरीले विसं २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । उनी २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।
नेता गिरीको शोकमा सिरहाको लहान नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो । आफूहरूले मत दिएर जिताएका अभिभावक गिरीको उपचार काठामाडौंस्थित मेडिसिटी अस्पतालमा भइरहँदा शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीयवासीले गाउँमा भजन कीर्तन गरेका थिए ।
नेता गिरीले कुनै पार्टीका वा व्यक्तिको नेता मात्र नभई समग्र समाज र सबै पार्टीको नेता हो भनी पहिचान छोडे । उनको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जसपाका अध्यक्ष उपेन्द्र यादव, सरकारका विभिन्न विभागका मन्त्री, कांग्रेस पार्टीको विभिन्न तह तप्काका नेता तथा कार्यकर्ता, अन्य पार्टीका नेता तथा कार्यकर्ताले गिरीको निधनमा श्रद्धाञ्जली दिएका थिए ।
रासस
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया