NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

एमाले रणनीति : आन्तरिक असन्तुष्टि मेटाउने, तालमेल खुला राख्ने, बहुमत ल्याउने

प्रमुख विपक्षी एमालेले आसन्न निर्वाचनका लागि पार्टीभित्रका असन्तुष्टि मेटाएर स्थानीय तह निर्वाचनको भन्दा मत बढाउने र तालमेलको ढोका खुला राखेर बहुमतको तयारी गर्ने रणनीति बनाउँदै छ । बहुमतको रणनीतिक लक्ष्यका लागि पार्टीको शक्ति–सामथ्र्य वृद्धि गर्ने र स्थानीय तालमेल खुला राख्ने एमालेको योजना छ ।

सत्तापक्ष अहिलेकै गठबन्धन कसिलो बनाउनेतिर अग्रसर भएपछि चुनौती महसुस गरिरहेको एमालेले केन्द्रीय कमिटीबाट चुनावी रणनीति र योजना बनाउने गरी छलफल सुरु गरेको छ । एमालेले १० र ११ भदौमा केन्द्रीय कमिटी तथा त्यसअघि ९ भदौमा पोलिटब्युरो बैठक बोलाएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष केपी ओलीले पार्टीभित्रका असहमति र असमझदारी थाती राखेर भए पनि स्थानीय तहमा प्राप्त मत बढाउने गरी पार्टीपंक्ति चुनावी अभियानमा केन्द्रित हुनुपर्ने धारणा राखेका छन् । पार्टी प्रवेश अभियानकै रूपमा चलाउने, गठबन्धनको चुनौती सामना गर्ने गरी सामथ्र्य बढाउने र स्थानीय आवश्यकताअनुसार अन्य दलसँगको तालमेल गरेर अघि बढ्ने ओलीको प्रस्ताव छ ।

केन्द्रीय कमिटी बैठकमा पेस गर्र्ने राजनीतिक प्रतिवेदनका विषयवस्तु र चुनावी तयारीबारे ब्रिफिङ गर्दै सुझाव मागेका ओलीले वामपन्थी भनिने दलहरू नै कांग्रेसलाई नेतृत्वमा पुर्‍याउने दिशामा हिँडिरहेकाले वाम तालमेलको भ्रमले पार्टीलाई क्षति पुग्न सक्ने बताएका छन् । ‘एक्लै जित्ने गरी पार्टीपंक्ति एकताबद्ध भएर चुनावमा परिचालित हुन्छौँ,’ ओलीलाई उद्धृत गर्दै स्थायी समिति सदस्य शेरबहादुर तामाङले भने, ‘अहिलेको मुख्य काम मत बढाएर पार्टीको सामथ्र्य बढाउने हो, तालमेल वा गठबन्धन तत्कालीन परिस्थितिले निर्धारण गर्ने विषय भएकाले आवश्यक परेको खण्डमा नेतृत्वले उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छ ।’

एमालेले विशेषतः माओवादीसहित अन्य दलबाट कार्यकर्ता प्रवेश गराएर स्थानीय तहमा प्राप्त मत बढाउने नीतिलाई प्राथमिकता दिएको छ । स्थानीय तहमा एमालेले ३४ प्रतिशत मत प्राप्त गरेको थियो । १६ प्रतिशत मत बढाउने एमालेको महŒवाकांक्षी लक्ष्य छ ।

बैठकमा अध्यक्ष ओलीले स्थानीय चुनावका क्रममा देखिएका अन्तर्घात, मतभेद र असमझदारी हटाउँदै स्थानीय आवश्यकताअनुसार तालमेलको ढोका खुला राख्नुपर्ने विचार राखेका थिए । ‘पार्टीभित्रका मतभेद, असहमति र असमझदारी तलैसम्म अन्त्य वा थाती राखेर पार्टीपंक्ति केन्द्रीकृत र एकताबद्ध भएर मतलाई बढाउने दिशामा केन्द्रित हुनुपर्छ,’ ओलीलाई उद्धृत गर्दै अर्का स्थायी समिति सदस्य हिक्मत कार्कीले भने, ‘स्थानीय आवश्यकताअनुसार तालमेलको ढोका खुला राखेर एकल बहुमत ल्याउने गरी अगाडि बढ्नुपर्छ ।’

यद्यपि, एमालेले वाम गठबन्धन नभने पनि गठबन्धनको ढोका पनि खुलै राखेर अघि बढ्ने नीति लिएको छ । अहिलेलाई गठबन्धन वा तालमेललाई जोड दिएर अगाडि बढ्दा मत बढाउने लक्ष्यसहित चलाएको प्रवेश अभियान सिथिल हुन सक्ने ओलीको निष्कर्ष छ । ओलीले आवश्यक निर्णय लिने प्राधिकार आफैँमा राख्ने नीति लिएका छन् ।

बैठकमा स्थायी समिति सदस्य घनश्याम भुसालले वाम गठबन्धनको ढोका पनि खुला राखेर जानुपर्ने धारणा राखेका थिए । जवाफमा ओलीले भने, ‘एमालेलाई हराउन गठबन्धनमा एकजुट बनिरहेका वेला फलानोसँग मिल्छौँ भन्न थाल्यौँ भने मत बढाउने लक्ष्यसहित चलिरहेको प्रवेश अभियान निष्प्रभावी बन्छ । गठबन्धन वा तालमेलका विषयमा आवश्यकता ठान्दा उपयुक्त निर्णय लिन सकिन्छ । अहिले यसमा अल्झिरहन आवश्यक छैन ।’

बैठकमा घनश्याम भुसाल, कर्ण थापा, प्रभु साह, गोरखबहादुर बोगटी, शेरधन राई, गुरु बराल, रघुजी पन्त, शेरबहादुर तामाङ, मणिचन्द्र थापा, खगराज अधिकारी, सुवास नेम्वाङ र हिक्मत कार्कीले अध्यक्षको ब्रिफिङ र प्रदेश इन्चार्जहरूको रिपोर्टिङमा केन्द्रित रहेर सुझाव राखेका थिए । बैठकमा बोल्नेमध्ये अधिकांश नेताले अहिलेको अवस्थामा वाम गठबन्धनका नाममा भ्रममा परेर चुनावी अभियान सिथिल बनाउन नहुने धारणा राखेका थिए । ‘एमालेलाई कमजोर पार्ने सत्तारूढ गठबन्धनको षड्यन्त्र परास्त गर्न जनता र कार्यकर्ताको शक्तिलाई केन्द्रीकृत गरेर अघि बढ्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ,’ स्थायी समिति सदस्य बोगटीले भने ।

बैठकपछि उपमहासचिव तथा प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले एजेन्डा मिल्ने दलसँग एमालेले चुनावी गठबन्धनको ढोका खुला राखेको बताए । गुरुङले गठबन्धनका विषयमा एमालेले पनि आन्तरिक रूपमा गृहकार्य गरिरहेको संकेत गर्दै सबै कुरा अहिल्यै डिस्क्लोज्ड गर्न नमिल्ने प्रस्ट्याए । ‘सबै कुरा डिस्क्लोज्ड गर्न मिल्दैन, यो झ्याली पिटाउने विषय पनि होइन,’ उनले भने ।

समानुपातिक सांसदलाई टिकट रोक्न प्रस्ताव

स्थायी समिति बैठकमा एकपटक समानुपातिक कोटाबाट सांसद बनिसकेका व्यक्तिलाई दोहोर्‍याएर सांसदको टिकट नपाउने गरी मापदण्ड बनाउनुपर्ने आवाज उठेको छ । कतिपयले भने व्यक्तिको योगदानलाई मूल्यांकन गरेर दुईपटकसम्म मात्र पार्टी लचिलो बन्नुपर्ने सुझाव राखेका थिए ।

‘समानुपातिकबाट सांसद भइसकेकाको हकमा केही विषय उठेका छन्, बहालवाला सांसदलाई समानुपातिकबाट कतिपटकसम्म टिकट दिने ? एकपटक, दुईपटक कि कतिपटक भन्नेमा छलफल अघि बढेको छ,’ स्थायी समिति सदस्य गोरखबहादुर बोगटीले भने, ‘स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर पराजित भएका पनि उम्मेदवार सिफारिस भएमा के गर्ने भन्ने विषय पनि उठेको छ, यी सबै विषयमा सुझाव दिने प्रक्रिया अगाडि बढेकाले केन्द्रीय कमिटी बैठकबाटै पार्टीले ठोस धारणा बनाउनेछ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।