प्रदीप गिरीको इच्छा भन्दै सरिता गिरीले सद्भावना पार्टी त्याग्नुको कारण के ?

काठमाडौं । सरिता गिरीले प्रदीप गिरीको अन्तिम इच्छा अनुसार आफूले नेपाल सद्भावना पार्टी छोडेको घोषणा गरेकी छिन् । सामाजिक संजाल फेसबुकमा लेख्दै गिरीले केही दिन अघि मात्रै निधन भएका प्रदीपको अन्तिम इच्छा अनुसार नै आफू सद्भावना पार्टीबाट अलग भएको घोषणा गरेकी हुन् ।
‘म दिवंगत माननीय प्रदीपजीको राजनीतिक र सामाजिक रूपान्तरण को एजेंडा लाई अगाडी बढाउनका लागि वहाँको अन्तिम इच्छा अनुसार आफु नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु। नेपाल सद्भावना पार्टी लाई मैरो सदैव सद्भावना रहने छ’ उनले सामाजिक संजालमा लेखेकी छिन्, ‘कठिन समयमा गरिएको यो अत्यन्त कठिन निर्णय हो । म २०७४ साल देखि निरन्तर सिरहा, लहानमा बसी काम गर्दै आएको छु र त्यही जनता बीच मेरो कर्मभुमि रहने छ ।’
आफूले कठिन निर्णय लिएको भन्दै उनले विरासत वा उत्तराधिकारीको राजनीतिमा विश्वास नगर्ने पनि प्रष्ट पारेकी छिन् ।
‘म प्रष्ट गर्न चाहन्छु म विरासत वा उत्तराधिकारको राजनीतिमा विश्वास गर्दिन न त प्रदीप दाई गर्नु हुन्थ्यो’ उनले भनेकी छिन्, ‘कर्म को राजनीति मेरो साध्य र साधन दुवै हुनेछ ।’ तर उनकाे स्टाटसमा धेरैले कांग्रेस प्रवेश गर्न सक्ने लेखेका छन् । कतिले अवसर छाेप्न खाेजेकामा टिप्पणी गरेका छन् ।
पत्रकार विन्दुकान्त घिमिरेले ‘हजुरको महान परिवारमा पर्न गएको गहिरो शोक प्रति हार्दिक समवेदना प्रकट गर्दछु । तर यो परिवारको राजनीतिक उत्तराधिकारी बन्ने मौका आर्थिक लोभका कारण हजुरले गुमाई सकेको सुन्दा नरमाइलो लागेको थियो ।’
प्रदीप गिरीले २०७४ सालमा सिरहा १ बाट प्रतिनिधिसभामा निर्वाचन जितेका थिए । उनको ठाउँमा को उठ्छ भन्नेमा चासो भइरहेका बेला सरिता गिरीले सद्भावना पार्टी त्यागेको घोषणा गर्दै आफू २०७४ सालदेखि सिरहाको लहान बसी काम गर्दै आएको बताएकी हुन् । प्रतिनिधिसभाकाे चुनाव मंसिर ४ मा हुँदैछ । सरिता प्रदीपकी भाइबुहारी हुन् ।
सरिता गिरीको खुलासा : प्रदीप दाइले भागौं भनेको दुई वर्षपछि उहाँकै भाइसँग विहे भयो
प्रतिक्रिया