भन्सार छलेर ल्याइएका माछा नष्ट

चितवन । भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट गरिएको छ । सोमबार चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैध रूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो ।
वीरगन्ज महानगरपालिका–२५ बस्ने ३० वर्षीय पुष्प साहले पोखरा जाँदै गरेको ना७ख ८८२२ नंको रात्रिबसको डिक्कीमा लोड गरेर ल्याएको माछा इलाका प्रहरी कार्यालय रामनगर, सशस्त्र प्रहरी बल आँपटारी र मत्स्य व्यवसायी सङ्घले संयुक्त रूपमा नियन्त्रणमा लिएका हुन् ।
बसमा १२ कार्टुन नैनी माछा, एक–एक कार्टुन रहु र पङ्गास माछा ल्याइएको थियो । करिब पाँच सय ६० केजी माछामध्ये ५० देखि ६० प्रतिशत सडेको अवस्थामा पाइएको पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका पशु स्वास्थ्य प्राविधिक शिरिष गौतमले जानकारी दिए । सो माछालाई सोमबार नै सरोकारवालाको रोहबरमा राष्ट्रिय पक्षी रोग प्रयोगशालामा रहेको बायोलोजिकल पीटमा नष्ट गरिएको छ ।
अवैध रूपमा नेपाल भित्र्याइएका माछा नियन्त्रणमा लिएर नष्ट गर्ने अभियानमा राज्यका निकायलाई सहयोग गरिरहेको सङ्घका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले बताए । उनले भारतका अवैध माछाले बजार कब्जा गरेपछि नेपालमा उत्पादन भएका माछा बिक्री हुन छाडेको गुनासो गरे । विभिन्न नाका हुँदै दैनिक ५० टन माछा भारतबाट भित्रिएको सङ्घको दाबी छ ।
सङ्घले देशका विभिन्न नाकामा पुगेर अनुगमन गर्दा दैनिक ५० टन माछा भन्सार छलेर नेपाल भित्रिएको पाइएको जनाएको छ । चितवनमा वार्षिक छ हजार पाँच सय टन माछा उत्पादन हुन्छ । यसको करिब ६५ प्रतिशत जिल्लाभित्रै खपत हुन्छ । बाँकी काठमाडौँ, पोखरालगायतका बजारमा बिक्री हुने गरेको सङ्घका जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीले बताए । पछिल्लो समय भारतीय माछाको अवैध आयात बढेकाले यहाँको उत्पादनले बजार पाउन नसकेको उनको भनाइ छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया