बजार अनुगमन तीब्र बनाउँदै जुम्ला प्रशासन

जुम्ला । चाडवाड नजिकिँदै गर्दा बजार अनुगमनलाई स्थानीय प्रशासनले तीब्र बनाएको छ । चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले सदरमुकाम खलङ्गा बजारमा रहेका पसलको अनुगमन गरेको छ ।
चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउने भएकाले अनुगमनलाई प्राथामिकतामा राखेको जिल्ला प्रशासन कार्यालय जुम्लाका सूचना अधिकारी प्रमिला रिजालले जानकारी दिइन् । उनले भनिन् ‘ उपभोक्तालाई कालोबाजरीबाट मुक्त गर्न ठूला खाद्यन्न पसलको समेत अनुगमन गरिएको छ । चार हजार बराबरको म्याद सकिएको पेय पदार्थ बरामद गरी नष्ट गरिएको छ’ ।
यो पटक समयमै अनुगमन गर्दा म्याद सकिएका खाद्यन्न वस्तु कम मात्रामा भेटिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । यहाँका व्यापारीले अझै पसल अगाडि मूल्यसूची राख्न मानेका छैनन् । मूल्यसूची नराखेपछि एउटै वस्तुको मूल्य पनि पसलैपिच्छे फरक–फरक भएकोले उपभोक्ता मर्कामा परेको स्थानीयवासी उपराज रावतले बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रमुख ईश्वर सुवेदीले सदरमुकाम खलङ्गाका व्यापारीले मिति सकिएको अखाद्य वस्तु ग्रामीण भेगका पसलमा पठाउने गरेको भेटिएको बताए । अनुगमनका क्रममा बिस्कुट कोकोकला, स्प्राइट, रेडबुल जस्ता म्याद सकिएको सामान भेटिएको छ ।
खाद्य अनुसन्धान अधिकृत डा. सुवेदीका अनुसार पसलमा ढक तराजु क्यालिब्रेसन अपडेट नभएको, साइनबोर्ड नराखेको, खाद्य अनुज्ञापत्र नलिइ उत्पादन तथा बिक्रीवितरण गरेको भेटिएको पाइने गरेको छ ।
जिल्ला प्रशासन कार्यालय संयोजक रहने गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयको टोलीले बजारको अनुगमनमा निस्किएको थियो ।
जिल्लाका स्थानीय तहका उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति गठन भए पनि पालिकामा रहेका स्थानीय बजार अहिलेसम्म अनुगमन हुन सकेका छैन ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया