पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो
काठमाडौं । दशैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दशैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ ।
साविक २२ लाख लिटर पेट्रोल खपत हुने गरेको थियो । हिजोआज पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ । डिजेल दैनिक ५५ लाख लिटर खपत भइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । साविकमा दैनिक औसत ३५ लाख डिजेल खपत हुँदै आएको थियो ।
दसैँ मनाउन सर्वसाधारण उपत्यका बाहिरिन थालेसँगै काठमाडौंका केही पेट्रोल पम्पमा इन्धन भर्नेको लामो लाइन लागेको छ । आजदेखि सरकारी तथा निजी कार्यालय दशैँ बिदासम्म बन्द भएका छन् । कार्यालय बिदा भएसँगै उपत्यकाबाट बाहिरिनेको चाप बढेको छ ।
दशैँका बेला सार्वजनिक बिदा भए पनि डिपो खुला रहने निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए । चाडपर्वका अवधिमा देशैभरि पेट्रोलियम पदार्थको सहजरुपमा बिक्री वितरणको व्यवस्था मिलाउन निगमका डिपो स्थानीय आवश्यकताका आधारमा खुला रहने व्यवस्था मिलाइएको उनको भनाइ छ । ‘देशभर पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको छ’, उनले भने, ‘आवश्यकताअनुसार देशभरका डिपो खुल्नेछन् ।
दशैँ बिदाका दिन विराटनगरस्थित १ नं प्रादेशिक कार्यालय, अमलेखगञ्जस्थित मधेस प्रादेशिक कार्यालय, थानकोटस्थित बागमती प्रादेशिक कार्यालय, पोखरास्थित गण्डकी प्रादेशिक कार्यालय, भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालय, सुर्खेतस्थित कर्णाली प्रादेशिक कार्यालय र धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालय आवश्यकताअनुसार खुल्ने निगमले जनाएको छ ।
यस्तै निगमको झापाको चारआलीस्थित शाखा कार्यालय धनुषास्थित इन्धन बिक्री डिपो, वीरगञ्जस्थित शाखा कार्यालय, दाङस्थित इन्धन डिपो र दिपायलस्थित शाखा कार्यालय बिदाका दिन पनि आवश्यकताअनुसार खुल्नेछन् ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया