एमसिसीविरोधीकाे दैलो चहार्दै विप्लव, एकैदिन भेटे दुई ‘नारायण’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेट गरेका छन्
बुधबार बिहान माओवादी केन्द्रका असन्तुष्ट समूहका नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका विप्लवले अपरान्ह बिजुक्छेसँग भेटवार्ता गरेका हुन् ।
व्याख्यात्मक टिप्पणीसहित संसद्बाट आइतबार एमसिसी अनुमोदन भएपछि विप्लवसहित साना पाँच वाम समूहले चरणबद्ध आन्दोलन घोषणा गरेका छन् ।
विप्लवले एमसिसी सम्झौताको विपक्षमा रहको नेताहरूसँगको भेटलाई तीव्रता दिएका छन् । भेतवार्तामा विप्लवसँगै प्रवक्ता खड्कबहादुर विश्वकर्मा गएका छन् ।
मजदुर किसान पार्टीबाट बिजुक्छे र संसदीय दलका नेता प्रेम सुवाल रहेका छन् । विप्लवले एमसिसीविरोधी सबै दलका नेताहरूसँग मोर्चावन्दी गरी आन्दोलनलाई थप प्रभावकारी बनाउने रणनीतिमा बनाएको बुझिएको छ । विप्लवले एकीकृत समाजवादीका नेता झलनाथ खनाल, एमालेका नेता भीव रावल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत नेताहरूसँग भेटवार्ता गर्ने तयारी गरेका छन् ।
यसअघि ओली सरकारसँग तीन बुँदे सम्झौता गरी शान्ति प्रक्रियामा आएका उनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्यसँग भेटघाट गरेका थिए ।
प्रचण्ड र माधवले एमसिसी अनुमोदन गरेर राष्ट्रघात गरेको आरोप लगाउँदै यसपटक उनीहरूलाई भेट्ने कार्यक्रम नभएको उनी निकट एक नेताले बताए ।
‘प्रचण्ड–माधवले एमसिसी अनुमोदन गरेर देश र जनतालाई धोका दिनुभएको छ’, उनले भने, ‘राष्ट्रघाति सम्झौता अनुमोदन गर्नेसँग हाम्रो सहकार्य हुँदैन ।’
एमसिसी विरोधी नेताहरूसँग एकपछि अर्को भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रतिक्रिया