अमेरिकामा २९ नेपाली टिमबीच इन्ट्रा कप भलिबल सुरु

न्युयोर्क । अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा नेपालीभाषी समुदायको भलिबल महोत्सव सुरु भएको छ । अमेरिकाका नौवटा राज्यबाट पुरुष र महिला खेलाडीका टिम सो महोत्सवमा भाग लिन कोलम्बस पुगेका छन् ।
अक्टोबर १५ तारिख शनिबारदेखि दुई दिनसम्म जारी रहने भलिबल महोत्सव अमेरिकामा नेपालीभाषी बीच सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा हो ।
परोपकारी संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनको आयोजनामा आकर्षक पुरस्कार राशिसहितको सो महोत्सवमा पुरुष र महिला गरेर २९ टिमले प्रतिस्पर्धा गरिरहेको खेल आयोजक समितिका संयोजक दिपेश प्रधानले बताए । प्रतिस्पर्धामा न्यूयोर्क, मेरिल्याण्ड, मिनीसोटा, ओहायो, टेक्सास, केन्टकी, नर्थ क्यारोलिना, भर्जिनिया र पेन्सिलभेनिया राज्यबाट नेपालीभाषी युवायुवतीका टिमले सहभागिता जनाएको प्रधानले जानकारी दिए । उनका अनुसार विजयी पुरुष टिमलाई आठ हजार पाँच सय अमेरिकी डलर र उपविजेतालाई छ हजार पाँच सय अमेरिकी डलर पुरस्कार राखिएको छ ।
त्यसैगरी विजेता महिला टिमलाई तीन हजार पाँच सय, उपविजेतलाई दुई हजार पाँच सय र तेस्रो हुनेलाई एक हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।
अमेरिकाको कोलम्बस सहरमा मुख्यालय रहेको परोपकारी संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा सुरु हुने सो खेलको उद्घाटन ओहायो स्टेटका रिप्रिजेन्टेटिभ मार्क जोन्सोन र फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले संयुक्त रूपमा एक समारोहका बीच गर्नेछन् ।
अमेरिकी पूर्वीय समयअनुसार शनिबार बिहान ९ बजे (नेपाली समय साँझ) उद्घाटन हुने सो खेलमा पुरुषतर्फ २१ टिम प्रतिस्पर्धा गर्दैछन् भने महिलातर्फ आठवटा टिमको प्रतिस्पर्धा छ । प्रतिस्पर्धामा न्यूयोर्कबाट रिजउड नेपाली समाज, म्याग्दी समाज र टिम बफेलो सहभागी छन् । मिनीसोटा राज्यबाट युनाइटेड मिनीसोटा, बिवाइएससी मिनीसोटा, बिवाइएससी गल्र्स भलिबल टिम, भर्जिनिया राज्यबाट रोनोक युनाइटेड र रोज टिम, मेरिल्याण्डबाट बेलमण्ट टिम, गुर्खाज टिम र बागलुङ टिम सहभागी भएका छन् ।
यसैगरी ओहायो राज्यबाट कोलम्बस यल्लो, सिनसिनाटी भलिबल क्लब, कोलम्बस ब्लू, कोलम्बस स्टार भिसी, सर्भाइभर्स, कोलम्बस फ्रेन्डसीप र फिप्टीस्टार युवा क्लबले सहभागिता जनाएका छन् भने टेक्सास राज्यबाट सुदूरपश्चिम नेपाली समाजका ए र बी टिम, केन्टकी राज्यबाट लेक्सिन्टन एएनकेए र केन्टकी एएनकेए वान साथै योङ स्टार लेडिज टिम प्रतिस्पर्धामा छन् ।
त्यस्तै नर्थ क्यारोलिना राज्यबाट इभिसीएनसी टिम र पेन्सिलभेनिया राज्यबाट योङ ब्लड टिम, राइजिङ स्टार टिम र युनाइटेड गल्र्स टिम प्रतिस्पर्धामा छन् ।
फाउण्डेसनका प्रवक्ता केशव आचार्यले अमेरिकामा नेपालीभाषी समुदायमा खेलकुदका माध्यमबाट आपसी सौहार्दता वृद्धि गर्दै युवायुवतीलाई सत्मार्गमा लगाउन विभिन्न खेलका प्रतिस्पर्धा आयोजना गरिँदै आएको बताए । उनले दुई हप्ता अघिमात्र अमेरिकाभरका ३८ टिमको सहभागितामा फुटबल प्रतियोगिता सम्पन्न गरिएको जानकारी दिए ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया