असोजमा कालिका मन्दिरको भेटी ३५ लाख

बागलुङ । बागलुङ भगवती गुठी व्यवस्थापन समितिले असोज महिनाभरी कालिका मन्दिरमा चढेको भेटी सार्वजनिक गरेको छ । गुठी व्यवस्थापन समितिले मङ्गलबार पत्रकार सम्मेलन गरि असोज महिनाभर कालिका मन्दिरमा ३५ लाख ३७ हजार आठ सय ४९ भेटी सङ्कलन भएको जानकारी दिइएको छ ।
आम्दानीबाट गुठीले विभिन्न शीर्षकमा १९ लाख ४० हजार ६ सय ६० खर्च भएको जनाएको छ । गुठीका अध्यक्ष कुमार खड्काले दिएको जानकारी अनुसार तलबका लागि पाँच लाख दुई हजार, बिद्युत महशुलमा १८ हजार अतिथि सत्कारमा १४ हजार, आर्थिक दान १० हजार, पूर्वाधार निर्माणमा २ लाख आठ हजार, खाद्यान्न तथा आवासमा ४४ हजार पाँच सय, मर्मत सम्हारमा १४ हजार सात सय ४३ तथा सांस्कृतिक कार्यक्रममा एक लाख २२ हजार पाँच सय खर्च भएको छ । अन्य खर्चमा ६ हजार देखाइएको छ ।
आम्दानीतर्फ भेटीमा मात्रै १९ लाख २२ हजार सङ्कलन भएको हो भने चामल बिक्रिबाट ८५ हजार, बोकाको टाउकोबाट दुई लाख १३ हजार, कुखुराबाट १७ हजार, राँगोबाट पाँच हजार आठ सय र घरभाडाबाट तीन लाख ८२ हजार सङ्कलन भएको हो ।
विवाह गरेको १३ हजार, आर्थिक सहयोगबाट एक लाख ७६ हजार तथा परेवाबाट ६ लाख ७६ हजार सङ्कलन भएको बताइएको छ । असोज महिनाभरमा भक्तजनले चाँदीको औँठी एक थान, चाँदीको सिक्का एक थान, चाँदीकै घोडा एक थान र सुनको टीका दुई थान भेटी चढाएका थिए ।
त्यस्तै चाँदीको पाउजु दुई जोर, सुनको मुन्द्रा एक वटा, सुनको तिलहरी एक तथा सुनको टुक्रा एक र चाँदीको ताज एक वटा अन्दाजी पाँच तोलाको चढाएको जानकारी गराइएको छ ।
प्रतिक्रिया