घरबहाल कर अब विराटनगर महानगरले नै उठाउने
विराटनगर । संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ ।
विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रियामा महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताए ।
यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो । संविधानले नै घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई दिएको छ । प्रमुख कोइरालाले अबदेखि महानगरमै आएर घर बहाल कर तिर्न स्थानीयलाई आग्रह गरे ।
विराटनगर महानगरले अझैसम्म पनि सोचेजस्तो घर बहाल कर उठाउन सकेको छैन । अन्तरक्रियामा वडाध्यक्षहरूले आफ्ना वडामा ठूल–ठूला व्यावसायिक फर्म भए पनि आफूहरुले कर सङ्कलन गर्न नसकेको बताए । धेरै व्यवसायी करको दायराभन्दा बाहिर रहेको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले महानगरको विकासका लागि कर सङ्कलनमा कठोर बन्नुपर्नेमा जोड दिए।
सो अवसरमा आन्तरिक राजस्व कार्यालयका प्रमुख डा. डिवी क्षेत्री र कर अधिकृत विमल पौडेलले स्थानीय तहले लिनसक्ने करका किसिम र करको सदुपयोगका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कर सङ्कलनका लागि महानगर र आन्तरिक राजस्व कार्यालय एकअर्काका परिपूरक भएकाले आगामी दिनमा दुवै निकायबीच समन्वय गरेर अगाडि बढ्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया