घरबहाल कर अब विराटनगर महानगरले नै उठाउने
विराटनगर । संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ ।
विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रियामा महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताए ।
यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो । संविधानले नै घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई दिएको छ । प्रमुख कोइरालाले अबदेखि महानगरमै आएर घर बहाल कर तिर्न स्थानीयलाई आग्रह गरे ।
विराटनगर महानगरले अझैसम्म पनि सोचेजस्तो घर बहाल कर उठाउन सकेको छैन । अन्तरक्रियामा वडाध्यक्षहरूले आफ्ना वडामा ठूल–ठूला व्यावसायिक फर्म भए पनि आफूहरुले कर सङ्कलन गर्न नसकेको बताए । धेरै व्यवसायी करको दायराभन्दा बाहिर रहेको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले महानगरको विकासका लागि कर सङ्कलनमा कठोर बन्नुपर्नेमा जोड दिए।
सो अवसरमा आन्तरिक राजस्व कार्यालयका प्रमुख डा. डिवी क्षेत्री र कर अधिकृत विमल पौडेलले स्थानीय तहले लिनसक्ने करका किसिम र करको सदुपयोगका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कर सङ्कलनका लागि महानगर र आन्तरिक राजस्व कार्यालय एकअर्काका परिपूरक भएकाले आगामी दिनमा दुवै निकायबीच समन्वय गरेर अगाडि बढ्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया