नेकपा एसको घोषणापत्र : ओलीसँग डर, निर्वाचन प्रणालीले अस्थिरता निम्तियो

काठमाडौं । सत्तारुढ दल एकीकृत समाजवादीले वर्तमान निर्वाचन प्रणाली अत्यन्त खर्चिलो भएको निष्कर्ष निकाल्दै परिमार्जन गर्नुपर्नेमा जोड दिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सोमबार घोषणापत्र जारी गर्दै उसले वर्तमान निर्वाचन प्रणाली नै अस्थिर राजनीतिको जड भएको उल्लेख गरेको छ ।
अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो समेत भएकाले कुनै पार्टीको पनि बहुमत नआउने र त्यसले राजनीतिक अस्थिरता निम्त्याउने खालको भएको नेकपा एसको निष्कर्ष रहेको छ ।
‘यो मूलतः धेरै पैसा खर्च गर्नेले मात्र जित्न सक्ने खालको छ । यो जटिल पनि छ र कुनै पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ । कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ । हामी यस निर्वाचन प्रणालीलाई सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौं’, घोषणापत्रमा उल्लेख छ ।
आगामी निर्वाचनलाई लक्षित गरी नीतिगत र कार्यक्रमगत गरी दुइ किसिमको प्रतिबद्धता जनाएको उसले निःशुल्क आधारभूत स्वास्थ्य सेवा र विदेशीएका युवाहरूलाई स्वदेशमै राजगारी सिर्जना गर्न आकर्षक आर्थिक प्याकेजको व्यवस्था गरेको छ ।
एमाले–राप्रपा गठबन्धनप्रति संकेत गर्दै एकीकृत समाजवादीले राजनीतिक संघर्षपछि प्राप्त उपलब्धिहरूलाई समाप्त गरेर भए पनि आफ्नो स्वेच्छाचारी शासन सञ्चालन गर्ने दुराकांक्षी पक्ष रहेको आरोप लगाएको छ । त्यसको विरुद्ध दृढतापूर्वक उभिने उसले प्रतिबद्धता जनाएको छ ।
त्यस्तै घोषणापत्रमा लोकतन्त्र विरुद्ध अनेक प्रकारका षड्यन्त्र भइरहेको उल्लेख गर्दै यस विरुद्धका सबै षड्यन्त्रहरूलाई परास्त गर्दै यसलाई सुदृढ र सु–स्थिर बनाउँन र समाजवादी लोकतन्त्रका रूपमा विकास गर्न चाहेको उल्लेख छ ।
यसैगरी आम जनतालाई अधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने । प्रत्येक प्रदेश सदरमुकाममा डायोग्नोसिस केन्द्र, ट्रमा सेन्टर, अप्रेसन थिएटर, आइसियु तथा भेन्टिलेटर सेन्टरहरूसहितका सुविधासम्पन्न एक हजार शैयाको अस्पताल प्रत्येक गाउँपालिकाको केन्द्रमा कम्तीमा २५ तथा नगरपालिकाको केन्द्रमा कम्तीमा १०० शैयाका सुविधासम्पन्न अस्पताल स्थापना र सञ्चालन गर्न पहल गरिने प्रतिबद्धता जनाएको छ ।
‘क्यान्सर, मुटुरोग, मिर्गाैला रोग, मधुमेह, उच्च रक्तचाप आदि घातक रोगका औषधी र स्वास्थ्य जाँच निःशुल्क उपलब्ध गराउन र क्यान्सर, मुटु, मृगौला, कलेजोको रोगलगायत जटिल र दीर्घ रोग लागेका बिरामीलाई उपचार र औषधी खर्चवापत मासिक पाँच हजार सहयोग उपलब्ध गराउन पहल गरिने छ । मुटु, मृगौला, कलेजो, फोक्सो र टाउकोको जटिल शल्यक्रियाहरू सरकारका तर्फबाट गर्ने व्यवस्था मिलाउन र मिर्गौला रोगीका लागि डायलोसिस तथा प्रत्यारोपण सेवा निःशुल्क गर्न पहल गरिने छ’, जारी घोषणा पत्रमा उल्लेख छ ।
मित्र राष्ट्रसँंगको सीमा समस्या समाधान गर्न र अतिक्रमित नेपाली भूभाग फिर्ता लिन उच्च प्राथमिकतासहित कुटनीतिक पहल गर्न दवाव दिइने प्रतिबद्धता जनाएको छ ।
यस्तो छ नेकपा एसले जारी गरेको घाेषणापत्र :
प्रतिक्रिया