‘जङ्गली जनावरको आतङ्क नियन्त्रण गर्नेलाई मतदान’
दोधाराचाँदनी । आगामी प्रतिनिधि र प्रदेशसभाको चुनाव आउन केही साता बाँकी रहँदा उम्मेदवार घरदैलामा पुगेर मतदाता रिझाउन व्यस्त छन्। उम्मेदवार घरघरमा पुगेर आफ्ना एजेन्डा मतदातालाई सुनाउँदै छन्। मतदाता घरदैलोमा आउने उम्मेदवारसँग गाउँबस्तीका समस्या दर्शाउँदै छन्।
मतदाताले आगामी पाँच वर्षका लागि कस्ता व्यक्तिलाई जनप्रतिनिधि चुनेर पठाउने भनेर मनस्थिति बनाउँदै छन्। महाकाली पारी दोधारा–चाँदनी नगरपालिका– १ स्थित पूर्णागिरी टोलकी हरिना धामीले यसपटक जंगली जनावरको आतंक नियन्त्रण गर्ने उम्मेदवारलाई मतदान गर्ने बताइन्। ‘बाँदर, बँदेलको समस्या बढी छ। खेती जोगाउन रात दिन जाग्राम बस्नुपर्छ,’ उनले भनिन्, ‘त्यसो गर्दा पनि बाली जोगाउन सक्दैनौँ। सबैभन्दा बढी समस्याका रूपमा जंगली जनावरको आतंक छ।’
वर्षौदेखि जंगली जनावरको समस्या झेल्दै आएको हरिनाले बताइन्। उनको जमिन नेपाल–भारत सीमा नजिक पर्छ। खेती नजिकै भारतपट्टी जंगल छ। ‘हाम्रो यो समस्या जसले सुनेर समाधानका लागि काम गर्छ, उसैलाई मतदान गर्छौँ,’ उनले भनिन्।
जंगलसँग जोडिएका दोधारा–चाँदनीका अधिकांश बस्तीका किसानले हात्ती, बाँदर, बँदेललगायत जनावरको समस्या भोग्नुपरेको छ। स्थानीयवासीलाई जंगली जनावरबाट बाली जोगाउन हम्मेहम्मे पर्ने गरेको छ।
वर्षौँदेखि जंगली जनावरको समस्या भोग्दै आए पनि अहिलेसम्म समस्याको दिगो समाधान हुन नसकेको दोधारा चाँदनी– १ कै जग्गु धामीले गुनासो गरे। ‘नेता चुनावका वेला आएर समस्या समाधान गर्ने आश्वासन दिन्छन्,’ उनले भने, ‘तर, चुनावपछि फर्किएर पनि हेर्दैनन्। अर्को चुनावमा मत माग्न मात्रै आउँछन्, जंगली जनावरको समस्या ज्युँका त्युँ छ।’
दोधारा चाँदनी– ३ की आशा राना क्षेत्री जंगलबाट आउने हात्तीले राति सुत्न नपाउने गरेको गुनासो गर्छिन्। ‘बालीनाली भएको वेला रातभरि सुत्न पाइँदैन,’ उनले भनिन्, ‘जंगली हात्तीले वितण्डा मच्चाउँछ। बाली त बचाउन सकिँदैन, भागेर ज्यान जोगाउनुपर्ने हुन्छ।’
ताजा अपडेट
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
-
काठमाडौँ महानगरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार
प्रतिक्रिया