आचारसंहिता विपरीत गतिविधि नगर्न निर्वाचन कार्यालयको आग्रह
काठमाडौं । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गरेका पाइएको छ ।
राजनीतिक दल र उम्मेदवारले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारंहिता पूर्णपालना गर्ने प्रतिबद्धता जनाए पनि अनुगमनका क्रममा आचारसंहिता विपरीत प्रचारप्रसार गरेको पाइएको छ ।
प्रदेश निर्वाचन कार्यालय पोखराले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा आचारसंहिता अनुगमन गर्दा आचारसंहिताको पालनामा दलहरु र उम्मेदवार गम्भिर नभएको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।
उनका अनुसार विभिन्न राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अनुमति नलिइकन प्रयोग गरेको, सवारी साधनमा ब्यानर, फ्लेक्स बोर्ड, लोगो, निर्वाचन चिन्हको स्टिकर तथा साउण्ड सिस्टम प्रयोग गरेको, पोल तथा सार्वजनिकस्थलमा फ्लेक्स बोर्ड राख्ने लगायतका आचारसंहिता विपरीतका गतिविधि पाइएको छ ।
पराजुलीले भने ‘निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा कार्यान्वयनका लागि विभिन्न संयन्त्रमार्फत गहनरुपमा अनुगमन भइरहेको छ । आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल तथा उम्मेदवारलाई सो कार्य नगर्न प्रत्यक्ष कुराकानी र टेलिफोनबाट निर्देशन दिएका छौँ ।
निर्वाचन कार्यालयका अनुसार अर्को पटकका लागि सो कार्य नदोहोराउन, निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न र आचारसंहिता विपरीत प्रयोग भएका सामग्री हटाउन राजनीतिक दल तथा उम्मेदवारलाई सजग गराएको छ ।
कार्यालयले आगामी दिनमा आचारसंहिता विपरीतका कार्य दोहोरिएमा प्रचारप्रसारमा प्रयोग भएका सवारीसाधन तथा अन्य सामग्री जफत गरी निर्वाचन आयोग ऐन २०७३, निर्वाचन ऐन २०७३ तथा प्रचलित निर्वाचन कानुन बमोजिम कारबाही हुने जनाएको छ ।
राजनीतिक दल तथा उम्मेदवारले प्रचारप्रसारमा प्रयोग गर्ने सवारी साधनको अनुमति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट लिनसमेत आग्रह गरिएको छ । प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ निर्वाचन क्षेत्र रहेको कास्कीमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया